काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त गराउन भूमिका खेलेको जसपालाई सरकारमा सहभागी हुन प्रस्ताव गरिएको छ । अहिले केहीबेरमा राष्ट्रपति कार्यालयमा ओलीले तेस्रो कार्यकालका लागि शपथ लिने र त्यससँगै विस्तार हुने मन्त्रिपरिषद्मा जसपाको अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई सरकारमा सहभागी हुन आग्रह गरेता पनि अस्वीकार गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
जसपाका नेताहरुले अहिले आफ्ना माग सम्बोधन गर्न ओलीले सुरु मात्रै गरेकाले माग पूरा भएपछि सहभागी हुने जवाफ दिएको छ । बिहीबार बेलुका प्रधानमन्त्री नियुक्त हुनुभएका ओलीले अहिले शपथ लिएपछि सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ । शुक्रबार बिहान कस कसलाई मन्त्री बनाउने भनेर छलफल भएता पनि निष्कर्षमा नपुगेकाले केही पुरानैलाई दोहोर्याउने संभावना रहेको बुझिन्छ ।