काठमाडौं– एमाले अध्यक्ष केपी ओलीले अहिले राष्ट्रपति कार्यालय सितल निवासमा प्रधानमन्त्री पदको सपथ लिंदै हुनुहुन्छ । प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका हैसियतमा ओलीलाई हिजो बिहीबार राती उक्त पदमा पुनः नियुक्त गर्नुभएको हो ।
आजै पहिलो चरणको सानो मन्त्रिमण्डल गठन हुनेछ । प्रधानमन्त्री ओलीले आजै रामबहादुर थापा‘बादल’, खनाल–नेपाल समूहबाट ४ जनामध्ये आज सुरेन्द्र पाण्डे र गोकर्ण विष्टलाई मन्त्रीमा नियुक्त गरी सपथ गराउने सम्भावना छ । गृहमन्त्रीमा पुनः रामबहादुर थापा बादल, अर्थमा सुरेन्द्र पाण्डे, भूमिसुधारमा गोकर्ण विष्टलाई नियुक्त गर्ने चर्चा छ । राष्ट्रपति विद्या भण्डारीबाट नेपालको संविधानको धारा ७६ को उपधारा (३) बमोजिम केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनाउन लाग्नु भएको हो ।
संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई बिहीबार साँझ ९ बजेभित्र नयाँ प्रधानमन्त्रीका लागि दाबी पेश गर्न हिजो बिहीबार राती नौ बजेसम्मको लागि समय दिनुभएको थियो । उक्त अवधिमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका दलहरुले बहुमत सदस्यको दाबी पेश गर्न नसके पछि एमाले अध्यक्ष ओलीलाई नै हिजो बेलुका प्रधानमन्त्रीमा पुन नियुक्त गर्नु भएको थियो ।