काठमाडौं – नेकपा माओवादी केन्द्र,प्रतिपक्षी दल नेपाली काङ्ग्रेस,र जनता समाजवादी पार्टी(उपेन्द्र पक्ष) का नेताहरुले शुक्रबार बिहान देउवा निवास बूढानीलकण्ठमा भेला भएर पछिल्लो राजनीतिक परिस्थितिबारे समीक्षा गर्नु भएको छ । तीन दलका नेताहरुको बैठकले अब केपी ओलीले संसद् विघटन गर्न सक्ने विश्लेषण गर्दै तीन दलीय सहकार्यलाई निरन्तरता दिने निर्णय गर्नु भएकोे छ । काङ्ग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको छलफलमा सभापति देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरुको सहभागिता थियो । 
बैठकको विश्लेषणमा स्रोतका अनुसार, ‘अब केपी ओलीले विश्वासको मत लिनका लागि जेठ अन्तिमसम्म कुर्दैनन्, जेठको पहिलो साता नै संसद अधिवेशन बोलाउने तयारी थालिएको छ, १५ गते अगावै विश्वासको मत माग्छन् र बहुमत नपाए धारा ७६ (५) मै नगई संसद विघटन गरेर अध्यादेशबाट बजेट ल्याउँछन् ।’ओलीको चाहना आफ्नो सरकारलाई बहुमत जुटोस् भन्ने भन्दा पनि बहुमत जुटेन भन्ने देखाएर संसद विघटन गरी मध्यावधि चुनावतिर जाने रहेको विपक्षी नेताहरुको आंकलन छ । ‘उहाँलाई बहुमत चाहिएकै छैन, त्यसैले महन्थ ठाकुरलाई तटस्थ नै राखेर माधव पक्षलाई पनि राजीनामा दिनबाट रोकेर संसदमा कसैको बहुमत पुग्न नदिने ओलीको रणनीति छ ।’
ओलीको विकल्पमा बहुमत जुटाउन नसकेका नेताहरुको शुक्रबारको बैठकले लोकतन्त्र र संविधानको रक्षाका लागि फेरि सहकार्य जारी राख्ने निश्कर्ष निकालेको एक नेताले जानकारी दिनुभएको छ । विपक्षी गठबन्धनको बहुमत नजुट्नुमा विदेशी चलखेल पनि जिम्मेवार रहेको र माधव नेपालले समेत धोका दिएको नेताहरुको निश्कर्ष छ । यद्यपि माधव नेपाल र महन्थ ठाकुरसँग सम्वाद जारी राख्न नेताहरु सहमत भएको छ ।