काठमाडौं – निषेधाज्ञा तोडेको आरोपमा उपत्यकाभित्र मात्रै प्रहरीले एकै सातामा ९ हजार ३ सय ४३ जनालाई कारवाही गरेको छ । बैशाख २४ देखि ३० गतेसम्म एक साताको अवधिमा उपत्यकामा ४ हजार २ सय ९९ वटा सवारी साधनहरु पनि कारवाहीमा परेका छन् । सीसीएमसीको सचिवालयका अनुसार काठमाडौं उपत्यकामा निषेधाज्ञा सुरु भएको दोस्रो साता अर्थात बैशाख २४ गते एकै दिन १ हजार १६ जनामाथि कारवाही भएको थियो । २५ गते यो संख्या बढेर १६ सय नाघ्यो भने २६ र २७ गते १८ सय नाघ्यो ।
बैशाख २८ गतेदेखि भने उपत्यकामा निषेधाज्ञा तोड्ने मानिसहरुको संख्या घटेको प्रहरी तथ्याङ्कले देखाएको छ । निषेधाज्ञा तोडेर बाटोमा निस्केका सवारी साधन र मानिसहरुलाई प्रहरीले केहीबेर सडक किनाराको ‘होल्डिङ’मा राखेर सम्झाई बुझाई घर पठाउने गरेको छ । सीसीएमसी सचिवालयका अनुसार निषेधाज्ञा सुरु भएको दोस्रो साता अर्थात बैशाख २४ गते ८ सय १० वटा सवारी साधन कारवाहीमा परेका थिए । त्यसयता दिनको ५ सय बढी सवारी साधनहरु कारवाहीमा पर्दै आएका छन् । बैशाख ३० गते दिउँसो १ बजेसम्म ४ सय ५१ सवारी साधनहरु कारवाहीमा परेका छन् ।