काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुग्नु भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निराश भएर फर्किनु भएको छ । संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार गठन गर्न तम्सिनु भएका देउवा र दाहाल बहुमत नपुग्ने भएपछि निराश भएर छुुट्टिनु भएको हो । देउवा दाहालको भेटपछि नेपाली काङ्ग्रेसका एक नेताले भन्नुभयो, ‘हामीले कोसिस गरिरहेकै छौं । तर बहमुत पुग्ने अवस्थामा देखिएको छैन ।
यस्तो अवस्थामा कसरी दाबी गर्नु ? अझै छलफलमै छौं, ठेगान छैन ।’जसपाको महन्थ ठाकुर पक्षलाई अनेक प्रयत्न गर्दा पनि विश्वासमा लिन नसकेपछि नेपाली काङ्ग्रेस, माओवादी र जसापको उपेन्द्र यादव पक्षमा जम्मा १ सय २४ जना मात्रै सांसद हुने भएका छन् । बहुमतका लागि १ सय ३६ जना चाहिने भए पनि ठाकुरले आफ ूनिकट १६ जना सांसदलाई भक्तपुरको एक रिसोर्टमा लगेर राखेपछि ७६ (२) अनुसारको सरकार बनाउने देउवा–दाहालको योजना विफल भएको हो ।
नेपाल पक्षलाई राजीनामाबाट रोक्ने अध्यक्ष ओलीले प्रयत्न गरिरहेको र राजीनामाको विषयमा नेपाल समूहभित्र मतभेद रहेको छ । गठबन्धन सरकार दाबी गर्न राष्ट्रपतिले दिनु भएको तीन दिनको समय आज बिहीबार राति ९ बजे सकिंदैछ । एमालेको खनाल–नेपाल पक्षका सांसदले राजीनामा दिएर तत्काल कायम रहेको संख्या घटाउने आशमा रहेपछि उक्त समूहको राजीनामा समेत अनिश्चित बनेको छ ।