हरि घिमिरे
काठमाडौं– बुढानिलकण्ठस्थित देउवा निवासमा यतिबेला माओवादी केन्द्रका अध्यक्ष र काङग्रेस सभापति बीच सरकार निर्माणको बारेमा छलफल भैरहेको छ । गठबन्धन सरकारको लागि आवश्यक मत पु¥याउन निकै सकस भैरहेको बेला सत्तापक्ष र प्रतिपक्षी दलहरुका नेताहरुबीच यतिबेला राजनीतिको म्यार्याथुन भैरहेको छ । भरे साँझसम्म कस्ले बाजिमार्ने हुन अझै अन्योल नै छ ।

आजै बिहान जनता समाजवादी दलका अध्यक्ष महन्थ ठाकुर र काङ्ग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो । आफुलाई प्रधानमन्त्रीको रुपमा सघाउन प्रस्ताव गरेका देउवालाई जसपा अध्यक्ष ठाकुरले ठाडै अस्वीकार गरेपछि प्रतिपक्षी दलहरुमा एक खालको निराशा देखिएको छ । यसै बीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुग्नुभएको छ ।

उता कामचलाउ सरकारका प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली पनि पार्टीका असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपाललाई मनाउन विभिन्न कार्ड प्रयोग गर्दै अहिले स्वयम नेता नेपालसँग पार्टी एकताको लागि छलफलमा जुट्नुभएको छ । चपलीहाइटमा क्याप्टेन रामेश्वर थापाको घरमा अहिले दुवै नेताबीच वार्ता भैरहेको छ । पार्टी भित्रको विवादलाई प्रधानमन्त्री समेत रहेका ओलीले सम्बोधन गर्न सके एमाले नेतृत्वकै संविधानको धारा ७६, उपधारा २ अन्तर्गत सरकार बन्न सक्नेछ । यदी पार्टी भित्रको विवादलाई प्रधानमन्त्री ओलीले तत्काल सम्बोधन गर्न चाहेनन् भने एमाले पनि फुट्ने र खनाल–नेपाल समूहका सांसद्हरुले राजीनामा दिन सक्नेछन् । यस्तो अवस्था आएमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने आधार तयार हुनेछ ।

जसपाका अध्यक्ष महन्थ ठाकुरले पनि अन्तिम समयमा आएर प्रधानमन्त्रीको आकाङ्क्षा देखाउनु भएको छ । एमाले र काङ्ग्रेससँग च्याखे थाप्दै सरकारको नेतृत्व गर्ने जिम्मेवारी दिन आग्रह गरेको उच्च स्रोतको भनाइ छ । ठाकुरलाई प्रधानमन्त्री बनाउन भित्री रुपमा साउथ ब्लक पनि लागेको बुझिन्छ । त्यसैले जसपाको ठाकुर पक्षले एमाले र काङ्ग्रेस दुवैलाई सरकार बनाउन सहयोग नगर्ने र सरकारमा पनि सहभागी नहुने बताउँदै आउनु भएको छ । प्रधानमन्त्री ओलीलाई पदबाट हटाउन काङ्ग्रेस र माओवादी केन्द्रले अन्तिममा जसपालाई प्रधानमन्त्री दिन पनि सक्दछ । जसपाको दुवै पक्षलाई साथ लिएन काङ्ग्रेस र माओवादी मिलाएर जसपाबाट डा.बाबुराम भट्टराई पनि प्रधानमन्त्रीको उपयुक्त पात्र हुनसक्ने देखिएको छ । यदि जसपाले सरकारको नेतृत्व गर्ने अवस्था आएमा महन्थ ठाकुर र डा. बाबुराम भट्टराई मध्ये नेपाली काङ्ग्रेस, माओवादी केन्द्र र उपेन्द्र समूहले भट्टराईलाई प्रधानमन्त्रीको उपयुक्त उम्मेदवार बनाउन सक्ने पनि देखिन्छ ।