काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेको स्थायी कमिटी बैठकले नेता माधवकुमार नेपालसहितका चार नेताको कारबाही फुकुवा लगायत चार निर्णय गरेको छ । बैठकले नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरिएको निलम्बनको कार्बाही फुकुवा गर्ने निर्णय गरिएको हो । आज बिहान बालुवाटारमा बसेको बैठकले केन्द्रीय सदस्य एवं बागमती प्रदेशसभा सदस्य कमरेड पशुपति चौलागाईको कोभिड सङ्क्रमणका कारण भएको निधनप्रति श्रद्धाञ्जली पनि व्यक्त गरेको छ ।
त्यस्तै बैठले पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई प्रत्यायोजन गरेको छ । बैठकमा ओलीले कोभिड महामारीको पछिल्लो जटिल अवस्था र यसको सामना गर्न सरकारले चालिरहेका कदमहरूका सन्दर्भमा बैठकलाई जानकारी गराउनु भएको थियो । बैठकले अक्सिजनको पर्याप्त, प्रभावकारी र नियमित आपूर्ति, खोप लगायत जीवनरक्षक औषधिहरूको प्रबन्ध, अस्पतालहरूको पूर्वाधार विस्तार लगायत कामका लागि राज्यको सम्पूर्ण शक्ति परिचालित गर्न र मित्र राष्ट्रहरूबाट आवश्यक सहायता जुटाउन थप कूटनीतिक पहल गर्न सरकारलाई सुझाव दिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनु भएको छ ।