काठमाडौं – गठबन्धनको सरकार निर्माण गर्ने बारेमा अन्तिम छलफल चलिरहेको बेला प्रधानमन्त्री एवं एमालअध्यक्ष केपी शर्मा ओली पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाललाई फोन गरेर भेटवार्ता गर्न आग्रह गर्नु भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले स्थायी कमिटीको सम्पूर्ण अधिकार आफुले लिनुको साथै माधवकुमार नेपाललगायका नेताहरुलाई ६ महिनाका लागि गरिएको निलम्बनको कारवाही समेत फिर्ता लिने निर्णय गरेको थियो ।
प्रधानमन्त्रीका विश्वासपात्र एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार ‘प्रधानमन्त्रीजीले फोन गरेर भेटौं र छलफल गरौं भन्नु भएको छ । माधव कमरेडले दुई घण्टापछि कुरा गरौंला भनेर जवाफ दिनु भएको छ ।’ ‘ अध्यक्षजीलाई राजनीतिक परिस्थिति हेरेर माधव कमरेडहरुसँग छलफल र वार्ता गर्नेदेखि अरु दलसँग छलफल गर्नेसम्मको अधिकार दिएको छ’, नेता नेम्वाङले भन्नुभयो । बैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिन नसकेपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलहरुको गठबन्धनको सरकार बनाउन तीन दिनको समय दिनुभएको थियो । उक्त समय सकिन अब केही घण्टामात्रै बाँकी छ ।