काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेस र जनता समाजवादी पार्टी नेपाल (जसपा) को महन्थ ठाकुर पक्षबीच आज बिहीबार भएको वार्ताका क्रममा काङ्ग्रेस सभापति शेरबहादुर देउवाले आफू नेतृत्वमा बन्ने सरकारलाई सघाउन आग्रह गर्नु भएको छ । उहाँको आग्रहलाई जसपाका ठाकुरले अस्वीकार गर्नु भएको हो । देउवा निवास बूढानीलकण्ठमा भएको वार्तामा अध्यक्ष महन्थ ठाकुरले आफूहरु सरकार निर्माणको दौडमा नरहेको कारण कुनै प्रकारको सहयोग नहुने बताउनु भयो । जसपा नेपालले राखेको माग कहीँबाट पुरा नहुने देखेर आफूहरु तटस्थ बस्ने निर्णय गरेको कारण सत्ता समीकरणमा जसपाको कुनै भूमिका नरहने स्पष्ट पारेको स्रोतले जनाएको छ ।
सभापति देउवाका स्वकीय सचिव भानु देउवाले बताए अनुसार, जसपा नेपालका अध्यक्ष ठाकुरलाई सरकार निर्माणमा सहयोग गर्न आग्रह गरिएको र उहाँले पार्टीमा छलफल गरेर जवाफ दिने जानकारी दिइएको हो । जसपा नेपालले राखेको माग पुरा गर्न आफूहरु तयार रहेको र त्यसका लागि मिलेर सरकार बनाउन देउवाले प्रस्ताव गरेको देउवाका स्वकीय सचिवको भनाइ छ । स्रोतका अनुसार देउवाले यस्तो प्रस्ताव राखेपछि अध्यक्ष ठाकुरले भने यस्तो कुरा आफूहरुले वर्षौदेखि सुन्दै आइरहेको हुनाले माग पूरा हुनेमा आफूहरुलाई कुनै विश्वास नरहेको बताउनु भयो ।