काठमाडौं – नेकपा एमालेका खनाल–नेपाल पक्षले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट व्यक्त गर्दै  आफ्ना माग पूरा गर्न  आज बिहीबार दिउँसो चार बजेसम्मको अल्टिमेटम दिएको छ । ओलीले आफ्ना माग पूरा नगरेको अवस्थामा आफूहरु सबैले राजीनामा दिने नेता भीम रावलले जानकारी दिनुभएको छ ।
उहाँले फागुन २८ गतेको आफ्ना पदाधिकारीलाई जिम्मेवारी मुक्त गर्ने ओलीको निर्णय फिर्ता हुनुपर्ने आफ्नो मुख्य माग रहेको बताउनु भएको छ । नेता रावलले बताए अनुसार,‘ हामी स्थायीत्व चाहन्छौं । पार्टी टुक्रियोस् भन्ने हाम्रो चाहना होइन । यदि हाम्रो माग पूरा हुन्छ भने पार्टी एकता सम्भव छ ।’
रावलले आज अपह्रान्न चार बजेसम्म अध्यक्ष ओली र नेपालबीच वार्ता हुने सम्भावना रहेको र वार्तामा सहमति भएमा स्थायी कमिटीबाट त्यसलाई पारित गर्ने जानकारी दिनुभएको छ । वार्तामा सहमति नभएमा आफूहरुले राजीनामा दिने र अर्को पार्टी गठन गर्ने निर्णयमा आफ्नो पक्ष पुगिसकेको समेत नेता रावलको भनाई छ ।