काठमाडौं – फुटको सङ्घारमा पुगेर झिनो आशामा अल्झेको छ । एमालेका वरिष्ठ नेता खनाल–नेपालका पक्षका नेताहरुले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई आफ्ना माग पूरा गर्न आज बिहीबार अपरान्न ४ बजेसम्मको अल्टिमेटम दिएको छ । पार्टी एकताका लागि आफुहरुले उठाउँदै आएका विषयहरुलाई तत्काल सम्बोधन गर्नेतर्फ अध्यक्ष ओलीले कदम नचाले पार्टी भित्रको असन्तुष्ट पक्षका सांसद्हरुले आजै राजीनामा गरी नयाँ पार्टीको घोषणा गर्ने खनाल–नेपाल समूहका प्रभावशाली नेता डा. भीम रावलले नवसञ्चार अनलाइनलाई बताउनु भएको छ ।
गत फागुन २८ गते ओलीले एकलौटी रुपमा पदाधिकारीहरुलाई जिम्मेवारी मुक्त गरेको निर्णय फिर्ता नलिए पार्टी एकतामा गम्भीर समस्या आउने भन्दै नेता रावलले ‘हामी पार्टीमा स्थायीत्व चाहन्छौं । हाम्रो चाहना पार्टी विभाजित होस् भन्ने होइन । हाम्रो मागलाई तत्कालै सम्बोधन गरे पार्टी एकता सम्भव छ । अन्यथा यथास्थितिमा हामीले राजीनामा दिनुको विकल्प छैन’ भन्नुभएको छ । पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपालबीच आजै वार्ता हुने र आफ्नो माग सम्बोधन हुनेमा नेता रावल आफुहरु विश्वस्त रहेको बनाउनु भयो ।