काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा जारी एमाले स्थायी कमिटीको बैठक सकिएको छ । उक्त बैठकले प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष खड्गप्रसाद (केपी) शर्मा ओलीलाई थप शक्तिशाली बनाउने निर्णय गरेको छ । अध्यक्ष ओलीले केन्द्रीय कमिटीका सबै अधिकार आफूमा केन्द्रित गरेको आफुलाई पार्टी भित्र थप वैभवशाली बनाउनु भएको हो ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटीले स्थायी कमिटीको सबै अधिकार अध्यक्षलाई दिने निर्णय गरेको जानकारी परराष्ट्रमन्त्री समेत रहनुभएका पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले दिनुभएको हो । देशमा कोरोना भाइरसको महामारी भएको बेला राष्ट्रिय राजनीतिका विषयमा पार्टीले तत्काल बैठक बसेर निर्णय गर्न सक्ने अवस्था नभएको सबै अधिकार पार्टी अध्यक्षलाई दिने निर्णय गरिएको प्रवक्ता ज्ञवालीले बताउनु भयो ।
त्यसैगरी, बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, नेता डा.भीम रावल, धनश्याम भूषाल र सुरेन्द्र पाण्डेलाई यसअघि गरेको कारवाही समेत फिर्ता लिने निर्णय गरेको छ । गत चैत १६ र १९ गते नेताहरुलाई प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले ६ महिनाका लागि निलम्बन गर्नुभएको थियो । वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेताहरुले पार्टीहित विपरीत समान्तर गतिविधि गरेको भन्दै अध्यक्ष ओलीले चार नेतालाई स्पष्टीकरण सोध्नु भएको थियो ।
प्रधानमन्त्रीले बैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशनबाट विस्वासको मत लिन नसके पछि नयाँ सरकार निर्माणमा गर्न राष्ट्रपतिले तीन दिनको समय सीमा भित्र गठबन्धनको सरकार निर्माण गर्न आज ३० गते बिहीबार राती १२ बजेसम्मको लागि समय तोक्नु भएको छ । एमालेका असन्तुष्ट पक्षको समर्थन लिएर प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको नेतृत्वमा सरकार निर्माणको प्रक्रिया अगाडि बढाइरहेको बेलो वरिष्ठ नेता नेपाललगायतका नेताहरु माथि गरिएको कारवाही फिर्ता लिनुलाई अर्थपूर्ण मानिएको छ । वरिष्ठ नेता खनाल–नेपालका सांसदहरुले आज पदबाट राजीनामा दिन तयार थिए । कारवाही फिर्ता प्रकरण गठबन्धनको सरकार निर्माणमा गम्भीर असर पर्ने देखिएको छ । यसैबीच खनाल–नेपाल समूहका नेताहरुमाथिको कारवाही र्फिता लिएर ओलीले आफुले नै पुनः सरकारको नेतृत्व गर्नेे अनुकु वातावरण बनाउन खोज्नु भएको देखिन्छ ।