काठमाडौं – नेकपा एमालेका खनाल–नेपाल समूहका २० सांसद्ले अन्ततः राजीनामा गर्ने भएका छन् । खनाल–नेपाल समूहका नेताहरुले राजीनामा दिने भएपछि प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाका लागि बहुमत पु¥याउने बाटो खुल्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बहुमत गुमाएसँगै नयाँ सरकार निर्माणका लागि खनाल–नेपाल पक्षको समेत सहयोग अपरिहार्य हुने भएपछि राजीनामाको भित्री तयारी भएको उच्च स्रोतले जानकारी दिएको छ । कसैलाई सघाउन भन्दा पनि पार्टीमा एकलौटी गर्दै आएका ओलीलाई पुनः प्रधानमन्त्री बन्नबाट रोक्नका लागि राजीनामा तयार भएको खनाल–नेपाल समूहका नेताहरुले बताएका छन् ।
खनाल–नेपाल पक्षका एक नेताका अनुसार, ‘ओली आफ्नो कमजोरी सुधार्न तयार भएनन् । उहाँलाई एमाले र कम्युनिस्ट आन्दोलनका साथै प्राप्त उपलब्धिप्रति माया छैन भन्ने प्रस्ट भयो, ‘समस्या नै ओली हुन्, फेरि उनलाई नै निरन्तरता दिन सकिँदैन भन्ने निचोड हाम्रो रह्यो ।’ गत बैशाख २७ गते प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीलाई विश्वासको मत देखाउन भएको मतदानमा खनाल–नेपाल पक्षका २८ जना सांसद अनुपस्थित भएका थिए । यो समूहका सांसदहरुले मत नदिएको र जसपा पनि सरकारको विपक्षमा गएपछि ओली विश्वासको मत पाउन नसकेर पदमुक्त हुनु भएको थियो । प्रधानमन्त्री ओलीले विश्वासको मत पाउन नसकेकै दिन राष्ट्रपतिले दलहरूलाई संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार बनाउन दावी पेश गर्न समय दिनु भएको थियो । राष्ट्रपतिले दिएको समयसीमा बैशाख ३० गते राति ९ बजे सकिँदैछ ।
बैशाख २७ गतेकै संसद बैठकमा प्रतिपक्षी दल नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवाले ओलीको विकल्पमा नयाँ सरकार गठन गर्ने प्रस्तावमा राख्दा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समर्थन जनाउनु भएको थियो । तर, ओलीको विकल्पमा नयाँ सरकार बनाउन संसदमा काङ्ग्रेस, माओवादी र जनता समाजवादीको बाबुराम–उपेन्द्र पक्षमात्रै बाट सम्भव नभएपछि खनाल–नेपाल समूह उक्त निष्कर्षमा पुगेको हो । बुधबार बसेको खनाल–नेपाल पक्षको स्थायी समिति बैठकले एमाले पार्टी फुटाउन र कम्युनिस्ट आन्दोलन कमजोर बनाउन केपी ओली लागि रहेको दाबी गर्दै ओलीको विस्थापनका लागि निकास दिन जरुरी रहेकाले कठोर निर्णय गर्न बाध्य भएको एक स्थायी समिति सदस्यले जानकारी दिनु भएको छ । ‘हामीले अन्तिमसम्म ओलीलाई २०७५ जेठ २ मा फर्कन समय दियौँ, तर, उहाँले मान्नुभएन । हामीले देशभर संगठन बनाएका छौं । यस्तो अवस्थामा ती नेता–कार्यकर्तालाई कसरी व्यवस्थापन गर्ने ? त्यसै छाड्ने पनि कुरा भएन । त्यसका लागि कि अर्को पार्टी गठन गर्नुपर्यो, कि कम्युनिस्ट आन्दोलनलाई जोगाउन अर्को उपाय निकाल्नैपर्छ ।’, ती सदस्यले भन्नुभयो, ‘अन्तिम प्रयास गर्दा पनि नभएपछि हामीले विकल्प खोजेका हौं ।’
एक स्थायी समिति सदस्यले बताए अनुसार, खनाल–नेपाल समूहसँग दुई विकल्प मात्र छ । ‘अहिले हामीसँग दुई विकल्पभन्दा अरु भएनन्, त्यो भनेको एउटा लोकतन्त्र, राष्ट्रियता र यो आन्दोलन जोगाउन नयाँ पार्टी गठन गरेर जाने, अर्को भनेको अल्पमतमा परेका ओलीलाई प्रधानमन्त्री बनाएर जानुभन्दा लोकतान्त्रिक शक्ति जो छ, उसैलाई जसरी सहयोग गर्न सकिन्छ, त्यसरी नै सहयोग गर्नु हो’, ‘त्यसका लागि हामी गर्न सक्ने योगदान गर्न तयार छांै ।’‘अब अरु दलहरु मिलेर मुलुकको निकास दिनुपर्छ । नयाँ सरकार बनाउनुपर्छ । यस्तो अवस्थामा हामी टुलुटुलु हेरेर र मुलुकलाई निकास विहीन बनाएर राख्न सक्दैनौं ।’ स्रोतका अनुसार २० जना सांसदले राजीनामा पत्रमा हस्ताक्षर गरिसकेका छन् । ‘हामीले हाम्रोतर्फबाट सबै काम सकेका छौं । हाम्रो नेता, भरोसा र विश्वासको केन्द्र माधव कमरेड नै हो । उहाँलाई सबै जिम्मा दिइसकेका छौं । उहाँले उपयुक्त समयमा सार्वजनिक गर्नुहुन्छ ।’ यसका लागि सम्पूर्ण अधिकार वरिष्ठ नेता माधवकुमार नेपाललाई दिइएको छ । नेता नेपालले बहुमतको गठबन्धनको सुनिश्चितताका लागि आफूसहित २० प्रत्यक्ष निर्वाचित सांसदको राजीनामा गर्न तयार रहेको काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई समेत जानकारी गराइसक्नु भएको छ ।
राजीनामा दिन तयार भएका सांसदहरुमा झलनाथ खनाल– इलाम १,माधवकुमार नेपाल–काठमाडौं २ , योगेश भट्टराई– ताप्लेजुङ,जयकुमार राई– सुनसरी १, भवानी खापुङ–तेह्रथुम, यज्ञराज सुनुवार–ओखलढुङ्गा, गणेश पहाडी–सिन्धुली १, पवित्रा निरौला खरेल– झापा २, जीवनराम श्रेष्ठ– काठमाडौं ८, नारायण खतिवडा– नुवाकोट १, विरोध खतिवडा–मकवानपुर २, सुरेन्द्र पाण्डे –चितवन १, घनश्याम भुसाल–रुपन्देही ३, गोकर्ण विष्ट–गुल्मी १, मेटमणि चौधरी दाङ–१, झपट रावल कैलाली–२, दीपकप्रकाश भट्ट– कञ्चनपुर ३, भीम रावल–अछाम १, कृष्णलाल महर्जन–ललितपुर २, सोमप्रसाद पाण्डे –पाल्पा २ का हुनुहुन्छ । एमाले वरिष्ठ नेता नेपाल पक्षले मुलुकको निकासका लागि बाध्य भएर राजीनामा दिने कठोर कदम चाल्नुपर्ने अवस्था आएको पनि दाबी गरेको छ ।