विराटनगर –अरुण तेस्रो जलविद्युत आयोजनाको सुरुङ निर्माणका क्रममा एक श्रमिकको मृत्यु भएको छ । सङ्खुवासभाको चिचिला गाँउपालिका ३ पुखुवामा निर्माण भइरहेको आयोजनाको म्याट वान पावर हाउसको सुरुङभित्र ब्लाष्टिङ लोडका क्रममा ३७ वर्षीय कृष्ण रानाको घटनास्थलमै मृत्यु भएको हो ।
विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले घटनामा कञ्चनपुरस्थित शुक्लाफाँट नगरपालिका १२ का रानाको मृत्यु भएको जानकारी दिएका छन् । उनका अनुसार बुधबार विहान करिब ८ बजे ब्लाष्टिङ लोडका क्रममा ढुङ्गा खसेर लागेपछि उनको मृत्यु भएको हो । यसक्रममा उनीसँगै कार्यरत ५० वर्षीय मिठ्ठु राना घाइते भएको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् । घाइते रानालाई उपचारका लागि जिल्ला अस्पताल खाँदबारी लगिएको छ ।