काठमाडौं – काठमाडौंको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले अक्सिजनको चरम अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज एक सूचना जारी गर्दै अक्सिजनको अभाव भएकाले नयाँ बिरामी भर्ना लिन असमर्थ रहेको जानकारी गराएको हो । अस्पतालका महाप्रबन्धक विकासमान सिंहले अस्पतालमा कोरोना सङ्क्रमित  तथा कोरोना नभएका बिरामीको सुरक्षित तवरले उपचार गराइरहँदा हाल आएर अक्सिजनको चरम अभाव भएपछि नयाँ बिरामी भर्ना लिन समस्या परेको जानकारी दिनु भएको छ ।
 “कोभिड–१९ बिरामीको उपचारमा कटिबद्ध भएर लागेको अवस्थामा नेपाल सरकारको नियमअनुसार दैनिक १ सय  सिलिन्डर अक्सिजन मात्र अस्पताललाई प्राप्त हुँदा चाहेअनुसार थप बिरामी भर्ना गरेर उपचार गर्न असमर्थ छौँ ।”उहाँले जानकारी दिनुभएको छ । अक्सिजनको अभावले सेवा प्रवाह गर्न कठिनाइ भएको भन्दै ग्रान्डी अस्पतालले बिरामीसँग क्षमासमेत मागेको छ । 
अक्सिजनको मात्रा आवश्यकताअनुसार प्राप्त भएसँगै थप बिरामीको भर्ना गरिने महाप्रबन्धक सिंहको भनाइ छ । ग्रान्डी अस्पतालले हाल ७५ भन्दा बढी कोरोना बिरामी तथा १ सय भन्दा बढी कोरोना नभएका बिरामीले उपचार गरिरहेको छ । वि.सं २०६९ मा स्थापना भएको ग्रान्डी अस्पतालमा २ सय भन्दा बढी शैयामार्फत बिरामीको उपचार हुँदै आएको छ ।