काठमाडौं – जनता समाजवादी पार्टी नेपालको बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली इतरको सरकार गठनका लागि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई लागेका छन् भने जसपा नेपालका अर्का अध्यक्ष महन्थ ठाकुर तटस्थ बसेर ओलीलाई सघाइरहेका छन् । एउटै पार्टी यसरी विभाजित भएका कारण राजनीतिक संक्रमण झन् लम्बिने देखिएकै बेला बुधबार जसपा नेपाल पदाधिकारीको बैठक बस्ने भएको छ । पार्टी पदाधिकारीको बैठक बोलाउन प्रयास गरिरहेका अध्यक्ष भट्टराईले सुरुमा अध्यक्ष ठाकुरसँग आफैले छलफल गर्ने भएका छन् ।
दुईजना बीचको छलफल सकिएपछि पदाधिकारीको बैठक बस्ने बताइएको छ । अध्यक्ष भट्टराईले बुधबार सामाजिक सञ्जालमार्फत सर्वदलीय सरकार गठनको सुझाव अघि सारेका छन् । वर्तमान तथा पूर्वप्रधानमन्त्री बाहेकका नेतृत्वमा सरकार गठन गर्न सुझाव दिएका उनले पार्टीका शीर्ष नेता एवं पूर्वप्रधानमन्त्री सम्मिलित एउटा निर्देशक समिति बनाउने र एक वर्षभित्र चुनाव गराउन प्रस्ताव गरेका छन् । यसअघि उनले प्रधानमन्त्री ओलीको बहिर्गमन गर्दै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाका नेतृत्वमा सरकार बनाउने पहल गरेका थिए ।
जनता समाजवादी पार्टीका ३२ जना सांसदमध्ये ओलीको पक्ष र विपक्षमा १६–१६ जना सांसद देखिएका छन् । माओवादी केन्द्र, काङ्ग्रेस र जसपा गठबन्धनको सरकार बनाउन थप १२ सांसदको समर्थन आवश्यक छ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले तीन दलीय गठबन्धनलाई नसघाएसम्म नयाँ सरकार बनाउने सम्भावना कम देखिन्छ । सर्वसम्मतिले एउटै निर्णय गरेर यो राजनीतिक समस्याको निकास दिन पदाधिकारी बैठक बस्न लागेका जसपा नेपालका एकजना पदाधिकारीले जानकारी दिएका छन् ।