रासस
चितवन – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरस नियन्त्रणका लागि सबै एक भएर लाग्नुपर्ने बताउनु भएको छ । केटिबी एड्भरटाइजिङ एजेन्सी, चितवनले प्रकाशित गरेको कोभिड–१९ विशेष बिजनेश म्यागजिनको आज मङ्गलबार भर्चुअल माध्यमबाट विमोचन गर्दै उहाँले सबै क्षेत्र कोभिडविरुद्ध जुट्नुपर्ने बेला आएको बताउनु भएको छ । उहाँले सरकार अहिले कोभिड नियन्त्रणमा असफल भएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘अब बन्ने नयाँ सरकारले विगतका सरकारका कमजोरीलाई सुधार गर्दै कोभिड नियन्त्रणमा लाग्नुपर्ने देखिन्छ ।’
सरकारकै कारण कोभिड नियन्त्रण बाहिर जान लागेको उहाँको आरोप थियो । चितवनबाट प्रकाशित भएको यो म्यागजिनले चितवनलाई आधार क्षेत्र बनाएर सम्पूर्ण क्षेत्रको विषय उठान गरे पनि यसले समग्र देशकै प्रतिनिधित्व गरेको उहाँको भनाइ थियो । उहाँका अनुसार, ‘चितवन आधार क्षेत्र बनाएर देशकै अर्थतन्त्रलाई प्रतिनिधित्व गरी कोभिडलाई जोडेर तयार पार्नुभएको छ । यो प्रयास प्रशंसनीय र सह्रानीय छ ।’
कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले विगतका वर्षमा महानगरले कोभिड न्यूनीकरणका लागि उल्लेख्य काम गरेको भन्दै अहिले पनि महानगर उत्तिकै गम्भीर भएर काम गरिरहेको बताउनु भएको छ । कोभिड सङ्क्रमित बिरामीको उपचारमा कुनै कसर नराख्ने भन्दै प्रमुख रेनु दाहालले कोभिड न्यूनीकरणका लागि सबै क्षेत्रसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।