काठमाडौं– प्रतिनिधिसभाको विशेष बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि गठबन्धन सरकार बनाउने बारे छलफल चलिरहेको छ । आजै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका शीर्ष नेताहरुबीच छलफल भएको थियो । यी तीनको मतले गठबन्धनको सरकार निर्माण गर्न चाहिने आवश्यक मत पुग्ने देखिएको छैन । जसपाकै महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष भने गठबन्धनको सरकारमा सामेल नहुने भनेर आज बिहान विज्ञप्ती नै निकालेको थियो । कांग्रेसकै नेतृत्वमा सरकार बनाउन एमालेको वरिष्ठ नेताद्वय खनाल–नेपाल पक्षका सांसद्हरुले राजीनामा दिएको अवस्थामा मात्र गठबन्धनको सरकार बन्न सक्ने सम्भाव देखिन्छ । अन्यथा संविधानको धारा ७६(३) अनुसार एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अल्पमतको सरकार बन्ने अवस्था बलियो देखिएको छ ।
यो समस्या केन्द्रीय सरकार निर्माणमा मात्र छैन । गण्डकी प्रदेशमा पनि देखिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिए पछि त्यहाँ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकै नेतृत्वमा सरकार सरकार बनाउन नेकपा माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका सांसदहरु एकै ठाउँमा उभिनु पर्ने हुन्छ । तर जनमोर्चाका तीन जना मध्ये एकजनाले गठबन्धनलाई सहयोग नगर्ने बताए पछि भोलीसम्मका लागि गठनबन्धनले समय सीमा भित्र सरकार बनाउन नसक्ने देखिएको छ । अन्ततः गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङनै मुख्यमन्त्रीले पुनः नियुक्त हुने देखिएको छ । गण्डकी प्रदेशको प्रदेशसभामा ६१ जना सांसद् रहेकोमा एमालेका गुरुङको पक्षमा ३० सांसद र विपक्षी गठबन्धनमा पनि ३० जना रहेका छन् । राष्ट्रिय जनमोर्चाका तीन जना सांसद्मध्ये १ जनाले सरकार निर्माणमा विपक्ष गठबन्धनलाई समर्थन नगर्ने भनेर सार्वजनिक अभिव्यक्ति दिए पछि गण्डकी प्रदेशमा पनि विपक्षी गठबन्धनको टाउको दुखाइ भएको छ ।