काठमाडौं – सर्वोच्च अदालतले कोरोनाबाट नागरिकको जीवन रक्षाका लागि तत्काल प्रभावकारी कदम चाल्न आदेश दिएको छ । अधिवक्ता शैलेन्द्रप्रसाद अम्वेडकर र मेहना अन्सारीले दायर गरेको रिट निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश वमकुमार श्रेष्ठको एकल इजलासले अस्पाताल, अक्सिजन लगायतका पूर्वाधार तत्काल तयार पार्न अन्तरिम आदेश दिएको हो । सर्वोच्चले दिनानुदिन कोरोनाका बिरामीको संख्या बढ्दै गएको अवस्थामा अस्पतालमा नभै नहुने अत्यावश्यक कुराहरुको व्यवस्था गर्न आदेश दिएको छ ।
त्यसका लागि अस्पताल, अक्सिजन, जनशक्तिलयाका पूर्वाधारको तत्काल व्यवस्था गर्न भनेको छ । नेपालमा पछिल्लो दिन कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ भने हजारौँको सङ्ख्यामा सङ्क्रमित भइरहेका छन् । हिजो सोमबार मात्रै १ सय ३९ जनाको मृत्यु भएको छ । ‘उपचारबाट कसैले पनि विमुख हुन नपरोस भन्नाको लागि थप साधनयुक्त अस्पतालहरू संचालन गर्ने गराउनेतर्फ आवश्यक पहल गर्नुपर्ने समेतका समस्याहरूको समयमै आवश्यक सम्वोधन हुनुपर्ने अवस्था देखिएकोले आवश्यक पर्ने औषधी र अक्सिजनको आपूर्ति सहज बनाउनु, थप साधनयुक्त अस्पतालहरू संचालनमा ल्याउनु, सर्वोच्चको आदेशमा अगाडि भनिएको छ ।
‘साथै अस्पतालहरूमा बिरामीहरूको चापलाई ख्याल गरी जनशक्तिको आपूर्ती तत्काल गर्नु र नागरिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध र सरोकार राख्ने यी उल्लेखित कुराहरूको व्यवस्थापन‘गर्नु ।’आदेशमा उपचारका लागि सरोकारवालाको प्रतिनिधित्व समेत हुनेगरी एउटा कार्य समिति निर्माण गरी समस्याहरुको समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य मन्त्रालयलाई आदेश दिएको छ । न्यायाधीश श्रेष्ठको इजलासले कारण देखाउ आदेश पनि जारी गरेको छ ।