काठमाडौं– अत्यधिक भिडका कारण कोरोना जोखिम बढेको भन्दै कालिमाटी फलफूल तथा तरकारी बजारबाट हुने खुद्रा कारोबार बन्द गरिएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुगमन पछि फलफूल तथा तरकारीको खुद्रामा हुने कारोबार निषेधाज्ञा अवधिभर बन्द गर्ने निर्णय भएको बजार विकास समितिले जनाएको छ । खुद्रामा तरकारी किन्न आउने बहानामा सडकमा मानिसहरुको आवागमन बढेको र बजारमा पनि भिड भएको निष्कर्षपछि खुद्रा कारोबार बन्द गर्ने निर्णय भएको समितिका कार्यकारी निर्देशकले बताउनु भएको छ ।
बजारको अघिल्लोतर्फ रहेको किसान बजार र खुद्रामा तरकारी बिक्री गर्ने खाली क्षेत्र क्रमशः बन्द गर्दै लगिने उहाँको भनाइ छ । हाल होलसेल बजारबाट तरकारीको खुद्रा कारोबार पनि गर्न नपाइने कार्यकारी निर्देशकले बताउनुभयो । कार्यकारी निर्देशकको भनाइ अनुसार बजारमा रहेका स्टलबाट थोक तरकारी तथा फलफूलको कारोबार भने नियमित सञ्चालनमा रहने छ । ‘बजारमा अब खुद्रा कारोबार निषेध गरिएको छ, होलसेल स्टलले थोकमा गर्ने कारोबार भने नियमित रुपमा गर्न पाउँछन्, ।’ देशका बिभिन्न ठाउँका किसानले बारीमा रहेको तरकारी सिधै बिक्री गर्न पाउनेगरी बजारभित्रको ‘अक्सन यार्ड’ भने खुला राखेको समितिले जनाएको छ ।