धनगढी – सुदूरपश्चिम प्रदेशमा दिनप्रतिदिन कोरोना सङ्क्रमितले अक्सिजन नपाएर अकालमै ज्यान गुमाउनु परिरहेका बेला मालिका ग्यास उद्योगको अक्सिजन प्लान्ट बिग्रिएपछि थप समस्या भएको हो । धनगढीमा रहेको एक मात्र मालिका ग्यास उद्योगको अक्सिजन प्लान्ट बिग्रिएको छ । त्यसै पनि अक्सिजन अभाव रहेका बेला एक मात्र अक्सिजन प्लान्ट बिग्रिएपछि थप हाहाकार भएको छ । ग्यास उद्योगको अक्सिजन प्लान्ट सोमबार राति बिग्रिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारीले जानकारी दिनुभयो ।
उद्योगको दैनिक एक सय ५० देखि एक सय ८० सिलिन्डर अक्सिजन उत्पादन क्षमता रहेको थियो । मालिका ग्यास उद्योगको अक्सिजन प्लान्ट बिग्रिएपछि अक्सिजन आपूर्तिमा थप समस्या सिर्जना भएको छ । सुदूरपश्चिमका अस्पतालहरुमा अक्सिजन अभाव भइरहेका बेला मालिका ग्यास उद्योगले केही हदसम्म भए पनि धानेको थियो । ‘तर सोमबार राति मेसिन बिग्रिएपछि उत्पादन रोकिएको सञ्चालकले जानकारीे गराउनु भएको छ । मर्मतका लागि भारतबाट जनशक्ति ल्याउनुपर्ने भएकाले त्यसका लागि पहल थालिएको उहाँले बताउनुभयो ।
सूचना अधिकारीका अनुसार अहिले नेपालगञ्जबाट थप अक्सिजन सिलिन्डर ल्याउने प्रयास भइरहेको छ । मालिका ग्यास उद्योगले प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पताललाई अहिले दैनिक ३० देखि ४० सिलिन्डर अक्सिजन उपलब्ध गराइरहेको थियो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारीले मालिकाले उपलब्ध गराउने कम्तीमा ४० सिलिन्डर, सेतीकै अक्सिजन प्लान्टबाट ६० सिलिन्डर गरेर दैनिक एक सय सिलिन्डरको जोहो धनगढीमै भइरहेको बताउनु भएको छ ।