काठमाडौं – शरीरको पल्स र अक्सिजनको मात्रा नाप्न प्रयोग हुने अक्सिमिटरको कालोबजारीमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले महामारीको समयमा कालोबजारी गर्नेहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बल्खु स्थित बायोप्लस फर्माका सञ्चालक शिखर श्रेष्ठ र थापाथली स्थित नानोटेक फर्माका सञ्चालक शेषकान्त अधिकारी,बाजुरा घर भएका थुमराज उपाध्याय, सुनसरी घर भएका पुष्कर घिमिरे, विराटनगरका विशाल आचार्य, सिन्धुलीका सन्तोष भण्डारी र भारतिय नागरिक जगदीश प्रसाद रानासरियासहित ७ जनालाई महाशाखाले पक्राउ गरेको छ । वास्तविक मूल्यभन्दा धेरै मुल्यमा बेच्न खोजेको अवस्थामा ७ सय ६५ थान अक्सिमिटर बरामद गरिएको महानगरीय अपराध महाशाखाका एसएसपीले जानकारी दिएका छन् । कोभिड–१९ को सङ्क्रमण अत्यधिक बढेको अवस्थामा अक्सिमिटरको माग बढेको छ ।
महाशाखाले काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी, औषधी व्यवस्था विभाग तथा वाणिज्य विभागका प्रतिनिधीको रोहवरमा अक्सिमिटर बरामद गरेको छ । अपराध महाशाखाका डिएसपी दुर्गा रेग्मी नेतृत्वको टोलीले कुलेश्वर, थापाथली र ग्वार्को लगायतका ठाउँबाट आरोपीहरुलाई पक्राउ गरेको हो । पक्राउ गरिएकाहरुलाई कालोबजारी ऐन अन्तर्गत मुद्दा चलाइने एसएसपीले बताएका छन् । आहा इन्डष्ट्रिज प्रा.लिमा काम गर्ने मोरङ घर भएका ४४ वर्षीय विशाल आचार्यले चिनबाट मास्कको तुनामा लुकाएर सो अक्सिमिटर काठमाडौं ल्याएको प्रहरीलाई बताएका छन् । उनले न्युरोडको डिएण्डडि इन्टरप्राइजेज मार्फत चिनबाट मास्कको तुना ल्याउँदा तुनाको बक्सभित्र लुकाएर अक्सिमिटर ल्याएको प्रहरीलाई बताएका छन् । कमसल गुणस्तरको सो अक्सिमिटरको बजार मुल्य करिब ७ सय पर्ने भएपनि उनीहरुले २ हजार २ सय सम्म बेच्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।