काठमाडौं – आज आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औंसीको दिनमा जन्मदिने आमालाई सम्मान गर्ने प्रचलन रही आएको छ । एउटा विशेष पर्वको रुपमा मनाइने आमाको मुख हेर्ने यो पर्वमा आफुलाई जन्मदिने आमालाई आफ्नो गक्ष अनुसार उपहार र मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइने गरिन्छ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा आमाबाट आशीर्वाद लिने दिनका रूपमा यो पर्वलाई लिइन्छ ।

यसैगरी आजैका दिन आमा गुमाएकाहरुले भने मातृ तर्पण र पिण्ड तथा पुरोहितलाई सिदा दान गर्ने र मिस्ठान भोजन गर्ने गरिन्छ । वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविद्हरुको भनाइ छ । शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ ।

सन्तानलाई नौ महीनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढि छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा वर्णन गरिएको पाइन्छ । त्यसैले जीवित आमालाई गक्ष अनुसार राम्रो र मीठो खान दिएर सम्मान गरी खुशी बनाइन्छ ।

यसै अवसरमा आजका दिन काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थमा लाखौं भक्तजनहरुको मेला लाग्ने गर्छ । तर गत वर्ष र यस वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण आमा नहुनेहरुले मातातीर्थमा गएर स्नान र श्रद्धासुमन अर्पण गर्न भएनन् । कोरोनकै कारण आमा र सन्तानविच भेटघाट गर्न र यो पर्वको रौनक सुन्य प्रायः देखिएको छ ।