काठमाडौं– विभाजनको सङ्घारमा पुगेको जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले अब बन्ने नयाँ सरकारमा आफ्नो पार्टी सामेल नहुने जनाउनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो बैशाख २७ गते सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा तटष्ठ बस्नुभएका ठाकुरले आफ्नो पार्टी सत्तामा भन्दा पनि एजेण्डामा केन्द्रीत रहेको बताउनु भएको छ । आज एक विज्ञप्ती जारी गर्दै जसपा अध्यक्ष ठाकुरले बैकपिल्क सरकार गठनमा लाग्नु मधेह आन्दोलनको मर्म विपरीत हुने भन्दै ‘जसपा सत्ताको प्राप्ति भन्दा एजेन्डा सम्बोधनको विषयमा केन्द्रित रहेको र मुद्दा सम्बोधन नै जसपाको मुल धेय रहेको अवस्थामा मुद्दाबाट विचलित भइ सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्य विपरीत हो, मधेश आन्दोलनको मर्म र भावना विपरीत हो भन्ने हाम्रो ठहर छ’ भनि उल्लेख गरिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले गठबन्धनको नयाँ सरकार निर्माणको छलफल गरिरहेको बेला जसपाका अध्यक्ष ठाकुरले यस्तो विज्ञप्ती निकाल्नु भएको हो । एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । हिजो सोमबार संसद्मा विश्वासको मत लिन असफल भएपछि एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीबाट पदमुक्त हुनुभए हो । बैशाख ३० गते बिहीबारसम्मको सीमा तोकेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) अनुसार बहुमतको सरकार बनाउन दलहरूलाई सोमबारै आह्वान गर्नुभएको छ ।