काठमाडौं – प्रतिनिधिसभाको विशेष अधिवेशनमा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो विश्वास लिन नसके पछि देशको राजनीति नयाँ सिराबाट अगाडि बढ्दै छ । प्रधानमन्त्री ओली सत्ताच्यूत भएपछि हिजै साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनको समयसीमा तोकेर गठबन्धनका सरकारका निम्ति आह्वान गर्नुभएको छ । नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा २ बमोजिम सरकार गठन गर्न बैशाख ३० गते बिहीबारसम्मको समयभित्र सरकारका बनाउन आह्वान गर्नुभएको हो ।
हिजो संसदमा विश्वासको मतदानको मत सङ्ख्यालाई आधारमान्ने हो भने धारा ७६ को २ बमोजिम गठबन्धनको सरकार निर्माण हुने सम्भावना न्यून देखिन्छ । मतदानमा सहभागी राजनीतिक दलहरुमध्ये संसद्को चौथो ठूलो दल जनता समाजवादी पार्टी(जसपा) का सांसद्हरु विभाजन भए । जसपाका अध्यक्ष महन्थ ठाकुरलगायत १५ जना सांसद्हरु तटष्ठ देखिनु, एमालेको वरिष्ठ नेता माधवकुमार नेपालसमूहका २८ जना सांसद् बैठकमा उपस्थित नहुनुले गठबन्धनको सरकार बन्नेमा आशङ्का छ । जसपाकै नेता उपेन्द्र यादव समूहले प्रधानमन्त्रीको विपक्षमा मत दिएर गल्ति गरेको भन्दै महन्थ–राजेन्द्रले विशेष अधिवेशन समाप्त भएपछि हिजै साँझ विज्ञप्ती निकालेका छन् ।
यसरी हेर्दा गठबन्धन सरकार निर्माण गर्न आवश्यक सङ्ख्या नपुग्ने देखिन्छ । यदी एमालेका वरिष्ठ नेता खनाल–नेपाल समूहका सांसद्हरुले राजीनामा दिएको भए या जसपा विभाजन नभएको अवस्था थियो भने गठबन्धन सरकार निर्माणमा सहजता थियो । एमाले वरिष्ठ नेता खनाल–नेपाल समूहले पार्टी भित्र र प्रतिपक्षीदलहरुसँग च्याखे थापेर निर्णायक शक्तिको रुपमा आफुलाई उभ्याएको छ । सरकारको दावी गरेको प्रमुख प्रतिपक्षी दलहरुलाई गतिणीय हिसाबले पनि गठबन्धन सरकार निर्माण गर्न त्यति सजिलो देखिंदैन । एमालेका १ सय २१ सांसद् अहिले पनि मौजुदा रहेको एमालेलाई जसपाको महन्थ–राजेन्द्र समूहले साथ दिए पुनः एमाले अध्यक्ष केपी ओली नै प्रधानमन्त्री हुने बलियो सम्भावना देखिन्छ । यदि यो समूहले सरकार निर्माणमा समेत कुनै पक्षलाई साथ नदिएको अवस्थामा एमालेले धारा ७६ को (३) बमोजिम अल्पमतको सरकार बनाउने छ । र, अन्ततः मध्यावधि निर्वाचनमा जाने सम्भावना अधिक छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रतिपक्षी दलहरुलाई गठबन्धन सरकार निर्माण गर्ने विषयमा छलफल गर्न आफ्नो निवास बुढानिलकण्ठमा बोलाउनु भएको छ । उक्त बैठकमा छलफल गर्न प्रधानमन्त्री ओलीको विपक्षमा देखिएका एमाले खनाल–नेपाल समूहका नेताहरुलाई पनि बोलाइएको छ । कुनै दलले सरकार निर्माण गर्न १ सय ३६ मतको आवश्यकता छ । प्रतिनिधिसभामा २ सय ७१ सांसद संख्या रहेको छ । हिजोको मतलाई आधारमान्दा विपक्षमा देखिएको १ सय २४ हो । जबकी एमाले १ सय २१ सङख्या रहेको छ । गणितीय खेलमा पुगको सरकार निर्माणमा एमालेका सबै मिलेको खण्डमा ओलीकै नेतृत्वमा अल्पमतको सरकार बन्ने बलियो आधार देखिन्छ । एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले हिजो प्रधानमन्त्रीलाई विश्वासको मत नदिने भनेर बाहिर रहेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २८ जना आफ्ना सांसद्हरुलाई कारबाही नगर्ने कुरा अहिले नै कारबाही नगर्ने बताउनु भएको छ । पार्टी ह्वीप उल्लङ्घन गर्ने सांसदलाई संसदीय बोर्ड या पार्टी केन्द्रीय कमिटीले मात्रै कारबाही गर्न सक्ने मुख्य सचेतक भट्टराईको भनाइ छ ।
राजनीतिमा असम्भव भन्ने कुरा केही छैन । नेकपा माओवादीकेन्द्र र जनता समाजवादी पार्टीसँग राजनीतिक प्रतिशोध साँधेर एमालेको ओली खेमाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई हामी समर्थन गर्छौ तपाई सरकार बनाउनुहोस् भन्न पनि नसक्ला भन्न सकिन्न । त्यसो त् २०७४ को निर्वाचनको जनादेशलाई आत्मसात् गर्न एमाले र माओवादी केन्द्र मिलेर मिलिजुली सरकार बन्ने आधार पनि नभएका होइनन् । तर यो सम्भावना ज्यादै न्यून छ । यसरी हेर्दा बिहीबार मध्यरातको समयसीमासम्म गठबन्धनको सरकार निर्माण नभए कामचलाउ सरकारका प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओली नै पुनः प्रधानमन्त्री बन्न सक्ने बलियो सम्भावना देखिन्छ ।