काठमाडौं– एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विशेष अधिवेशनबाट विश्वासको मत पाउन सफल हुनुभएन । अहिले भरखरको ताजा परिणाम अनुसार कुल २ सय ७१ जना सांसद् संख्या रहेको प्रतिनिधिसभामा आज २ सय ३२ सांसद्हरुको उपस्थिति रहेको थियो । आज ५:३० बजे भएको विश्वासको मत लिन सुरु भएको प्रक्रियामा प्रधानमन्त्री ओलीको पक्षमा जम्माा ९३ मत परेको थियो भने विपक्षमा १ सय २४ परेको थियो । यसैगरी तटष्ठमा १५ मत परेको थियो । जनता समाजवादी पार्टीको महन्थ– राजेन्द्र महतो पक्षले पक्ष, विपक्षमा मत जाहेर नगरी तटष्ठ बस्यो ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसद्हरुको बैठकले अन्तिम समयमा आएर राजीनामा नदिने र बैठकमा पनि सहभागी नहुने निर्णय गरेको थियो । नेपाल पक्षका 28 जना सांसद्ले आफ्नै पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नचाहेकोले विशेष अधिवेशनको बैठकमा उपस्थित हुनुभएन । ओली नेतृत्वको सरकार आजबाट कामचलाउ सरकारमा रुपान्तरित भएको छ ।