काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्धको भ्याक्सिन खरिदमा कुनै भ्रष्टाचार नभएको दाबी गर्नु भएको छ । सोमबार प्रतिनिधिसभामा सांसदहरुबाट उठेका सवालको जवाफ दिँदै प्रधानमन्त्री ओलीले कोभिड–१९को तिब्र सङ्क्रमणकै बेला दक्षिण एसियामै भारतपछि पहिलो पटक नेपालले भ्याक्सिन उपलब्ध गराएको बताउनुभयो ।
जसमा भारतबाट पहिलो पटक १० लाख डोज र चीनबाट ५ लाख निःशुल्क पाएको र थप २० लाख सरकारले खरिद गरेर ल्याउँदै गरेको बताउनुभयो ।‘४ डलरका दरमा २० लाख भ्याक्सिन खरिद गरेको छ । त्यो पनि जीटूजी प्रणालीमा । यसमा पनि भ्रष्टाचार भएको छ भन्नु हुन्छ भने, आउस् छानबिन गरौं । अन्य भ्याक्सिन खरिद गर्ने सवालमा अरुले कमिसनको कुरा गर्नु भएको हो भने, मलाई जानकारी छैन, छ भने मलाई जानकारी दिनुहोला म कारबाही गर्छु,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।