काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको प्रस्तावमाथि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समर्थन जनाउनु भएको छ । अबको सरकार संविधानको धारा ७६ (२) को अनुसार बनाउने प्रक्रिया अघि बढाउनुपर्ने देउवाको प्रस्तावमा प्रचण्डले समर्थन गर्नु भएको हो । संविधानको धारा ७६ मा सरकार गठनसम्बन्धी व्यवस्था छ । उक्त धाराको उपधारा २ मा संसद्का दुई वा दुईभन्दा बढी दलले बहुमतको सरकार बनाउन सक्ने व्यवस्था छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सभापति देउवाले प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने भएकाले अब संविधानअनुसार दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउने प्रक्रिया अघि बढाउन माग गर्नु भएको थियो । देउवापछि बोल्नु भएका प्रचण्डले यही संसद्बाट नयाँ सरकार बन्ने सम्भावना भएकाले आफू देउवाको प्रस्तावमा समर्थन रहेको बताउनु भयो । उहाँले प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न पनि सुझाव दिनु भएको छ ।