काठमाडौं – माध्यमिक शिक्षा परीक्षा (एसइइ) र कक्षा १२ को निर्धारित परीक्षा तत्कालका लागि स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज सोमबार बसेको बैठकले तत्कालका लागि परीक्षा स्थगित गरि मूल्याङ्कनको विकल्प र मोडालिटीबारे छलफल गर्ने निर्णय गरेको हो । बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार, ‘तत्कालका लागि परीक्षा स्थगित गर्ने निर्णय भएको छ । अर्को सूचना नआएसम्म निर्धारित परीक्षा रोकिएको हो । मूल्याङ्कनको विकल्प र विधिबारे अब छलफल हुनेछ । अहिले नै यसरी मूल्याङ्कन गर्ने वा परीक्षा भए कसरी हुने वा नभएको अवस्थामा के गर्ने भन्ने यकिन भएको छैन ।’ 
कोरोना भाइरसको सङ्क्रमण पुनः देशभर फैलिंदै जाँदा परीक्षा रोकिएको हो । गत वर्ष आन्तरिक मूल्याङ्कन सहितका आधारमा नतिजा प्रकाशित गरिएको थियो । एसइइ परीक्षा आउँदो जेठ १३ गतेदेखि तथा कक्षा १२ को परीक्षा जेठ २६ देखि सञ्चालन गर्ने तयारी थियो । तर बोर्डको निर्णयसँगै अर्को सूचना नआएसम्मका लागि परीक्षा स्थगित भएको हो ।