काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति र स्थायित्वका लागि नयाँ संविधान बनाएता पनि मुलुक त्यो दिशातिर नगएकोमा आफु खुसी नभएको बताउनु भएको छ । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको विपक्षमा बोल्दै प्रचण्डले भन्नुभयो, ‘म खुसी छैन । के सोचेर संविधान बनायौं र अहिले ३ वर्ष नबित्दै अविश्वास प्रस्ताव जस्ता दुष्चक्रमा फस्दैछ’, उहाँले सरकारका गतिविधिले संविधानलाई नै कोरोना लागेजस्तो अवस्थाबाट गुज्रनुपरेको बताउनु भयो ।
अध्यक्ष दाहालले यस्तो अवस्था आउनुको प्रमुख जिम्मेवार को ? भन्दै देशको राष्ट्रिय स्वाधिनता, संविधान, कम्युनिस्ट आन्दोलनमा मुख्य सङ्कट कसका लागि आयो प्रधानमन्त्री जी भन्दै प्रश्न गर्नु भएको छ । उहाँले आफुलाई प्रधानमन्त्रीले राष्ट्रिय समस्या भनेको सुनेको भन्दै आफु कि तपाई राष्ट्रिय समस्या हो ? भनेर प्रश्न गर्नुभएको छ । उहाँले बाम गठबन्धन र कम्युनिस्ट एकतालाई प्रधानमन्त्री ओलीले नै तुहाउने काम गरेको आरोप लगाउनु भएको छ ।