काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवाले अरुमाथि दोष थुपारेर प्रधानमन्त्री केपी शर्मा ओली भाग्न नपाउने बताउनु भएको छ । प्रतिनिधिसभाको विशेष बैठकमा दलका तर्फबाट धारण राख्दै सभापति देउवाले अहिले प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था कसका कारणले आएको भन्दै प्रश्न गर्नुभएको छ । देउवाले संविधानले व्यवस्था गरेको लोकतान्त्रिक मूल्य मान्यतामा सरकार चलेको छ ? सरकार सञ्चालनको जिम्मा लिएकाहरुबाट संविधान सुरक्षित छ ? भनेर प्रश्न उठाउनु भएको छ ।
झण्डै दुई तिहाइ गठबन्धनबाट बनेको यो सरकारमा आज विश्वासको मत माग्नुपर्ने अवस्था आएको भन्दै ‘यसका लागि को जिम्मेवार छ ? संविधानले प्रधानमन्त्रीलाई कार्यकारी अधिकार दिएपनि प्रधानमन्त्रीलाई देश र जनताको हितमा काम गर्न के ले रोकेको छ ?’, देउवाले प्रश्न गर्नुभयो । ‘आफु कार्यकारी प्रधानमन्त्री हुने अनि अरुलाई दोष थोपर्ने ? अरुमाथि दोष थुपारेर प्रधानमन्त्री भाग्न पाउनुहुन्छ ? ओली नेतृत्वको सरकार पुनः असफल भएको छ । छातीमा हात राखेर सोच्नुस् यो अवस्था तपाईले सिर्जना गरेको राजनीतिक अस्थिरता, दम्भ र स्वेच्छाचारिता होइन ? ’देउवाले ओलीमाथि प्रश्न ठड्याउनु भएको छ ।
सभापति देउवाले कोभिड महामारीले जनता छटपटाइरहेका बेला थोरै मानिसलाई खोप दिएको भन्दै जनताको जीवन रक्षा गर्ने औषधिमाथि भ्रष्टाचार गर्नु गैरजिम्मेवारिताको पराकाष्ठा भएको बताउनु भयो । उहाँले आफ्ना जनतालाई अक्सिजन व्यवस्था गर्न नसक्ने र जनता मर्दा टुलुटुलु हेर्नु निरीहता भएको भन्दै सरकारले नै संविधान भत्काउने प्रयास गरेको आरोप समेत लगाउनु भएको छ ।