काठमाडौं – विश्वासको मत लिन आह्वान गरिएको विशेष अधिवेशन सुरु हुन लागेको छ । अधिवेशनमा भागलिन सङ्घीय सांसद्हरु धमाधम सभाहलमा प्रवेश गरिरहनु भएको छ । बैठकमा प्रवेश गर्ने सांसद्हरुलाई पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आए नआएको जाँच गरी बैठक कक्षमा प्रवेश दिइएको छ । पीपीई लगाएर मुख्य ढोकामा खटिएका कर्मचारीहरुले सांसद तथा कर्मचारीहरुको पीसीआर रिपोर्ट चेक गर्दै प्रवेश अनुमति दिइएको छ ।
विश्वासको मत लिनका लागि आज दिउँसो १ बजेको लागि बोलाइएको विशेष अधिवेशन यो समाचार तयार पार्दासम्म सुरुभएको छैन । प्रधानमन्त्री ओलीले आफ्नो बहुमत सिद्ध गर्नका लागि आज विशेष अधिवेशन आह्वान गरिएको हो ।
व्यवस्थापिका संसद्मा प्रतिनिधित्व गर्ने २६ जनाभन्दा बढी सांसद्हरुमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भैसकेकोले सङ्क्रमित सांसद्हरुलाई छुट्टै मतदान गर्ने व्यवस्था मिलाईएको संसद् सचिवालयले जनाएको छ । संसद बैठकमा सहभागी हुनेहरुलाई कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ । पीसीआर परीक्षण नगराएकाहरुलाई एन्टिजेन परीक्षण गराएर मात्रै बैठकमा सहभागी गराइने संसद सचिवालयले जनाएको छ ।