काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज सङ्घीय संसद्मा विश्वासको मत लिँदै हुनुहुन्छ । आज बस्ने बैठक अघि संसद्का कर्मचारी, सुरक्षाकर्मी तथा सांसद्हरुको पीसीआर परीक्षण गरिएको थियो । जसमा दुई दर्जन भन्दा बढी सांसद्हरु सङ्क्रमित रहेको पाइएको थियो । विश्वासको मत दिनका लागि सङ्क्रमित सांसद्हरुलाई संसद् भवनमा छुट्टै व्यवस्था गरिएको छ । भवनबाहिर टेन्ट टाँगेर सङ्क्रमित सांसद्हरुलाई राखिएको छ ।
विश्वासको मत दिन संसद् भवन पुग्नु भएकी एमाले सांसद् माया देवी ज्ञवालीले कोरोना महामारीले देश आक्रान्त भएको बेला एक जुट भएर लाग्नुपर्ने बेला यो तरिका ठीक नभएको प्रतिक्रिया दिनु भएको छ । ‘बेला न कुबेला जनतालाई दुःख’ उहाँले भन्नुभयो, ‘आफ्नो रिपोर्ट पोजेटिभ भएकाले दोस्रो दर्जाको नागरिक जस्तो भएको महसुस गरेको छु ।’ सङ्क्रमित सांसद्हरुलाई ल्होत्से हलको दक्षिण पट्टी बस्नका लागि ठाउँ छुट्टयाइएको छ । उहाँहरुलाई मतदानको समय भएपछि ल्होत्से हलभित्र भोट हाल्ने व्यवस्था मिलाएको संसद् सचिवालयले जनाएको छ ।