काठमाडौं – पार्टी विभाजनको डिलमा पुगेको सत्तारुढ दल एमाले भित्रको विवाद अन्तिम अवस्थासम्म मन्थर हुने भएन । पार्टी अध्यक्ष केपी शर्मा ओलीले निलम्बन गरेका वरिष्ठ नेता माधवकुमार नेपाल भने अन्तिम क्षणमा एकता कायम राख्न भन्दै अध्यक्ष ओलीलाई ६ बुँदे प्रस्तावसहितको पत्र पठाउनु भएको छ । एकताका लागि गरिएको प्रस्ताव स्वीकार नगरेमा आफूहरुले सांसद्बाट राजीनामा दिने पत्रमा उल्लेख गरिएको छ ।
हिजो आइतबार बिहानदेखि साँझसम्म सहमतिका लागि विभिन्न कोणबाट भएका वार्ता असफल भएपछि नेपाल समूहको बैठकले २०७५ को जेठ २ को अवस्थामा फर्किने र सहमतिका साथ अगाडि बढ्ने प्रतिबद्धताका लागि अध्यक्ष ओलीलाई सोमबार बिहान ९ बजेसम्म पर्खिने निर्णय गरेको थियो । यो समयसीमा सकिन अब २ घण्टामात्र बाँकी छ ।
हिजो साँझ सिंहदरबार परिसरमा एमालेको दुवै पक्षका बीच अन्तिम प्रयास स्वरुप भएको बैठकपछि वरिष्ठ नेता नेपालले गत फागुन २३ गते पछि भएका कमीकमजोरीहरु औल्याउँदै अध्यक्ष ओलीलाई पत्र पठाउनु भएको हो । नेता नेपालले पत्रमा शर्तहरुसहित पार्टी एकता कायम राख्न समेत आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष ओलीलाई सम्बोधन गरी लेखिएको पत्रमा ‘उक्त दुई पार्टीहरु पूर्ववत् अवस्थामा रहने तथा पुनः एकता गर्ने भए निर्वाचन आयोगमा जानु भन्ने भएपछि पार्टी केन्द्रीय कमिटीको बैठक बोलाई छलफल गरिनु पथ्र्याे । त्यसो नगरी तपाईँले गत फागुन २८ गते पार्टीको नवौं राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन र पार्टी विधान मिचेर केन्द्रीय कमिटी भङ्ग गरी कथित राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गर्नुभयो । त्यसरी आयोजक कमिटी गठन गर्दा हामी लगायतका केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरुलाई जिम्मेवारीबाट मुक्त गर्ने अत्यन्त स्वेच्छाचारी निर्णय गर्नुभयो ।’ भनी उल्लेख गरिएको छ ।
उक्त पत्रमा भनिएको छ ‘त्यतिले मात्र नपुगेर तपाईँले केन्द्रीय कमिटीका पदाधिकारी र स्थायी कमिटीका सदस्य समेत चारजनालाई पार्टी सदस्यबाट नै निलम्बिन गर्ने तानाशाही निर्णय गर्नुभयो । प्रतिनिधिसभाका हामी ३० जना सदस्यहरुलाई आधारहीन र पूर्वाग्रहपूर्ण आरोप लगाउँदै स्पष्टीकरण सोध्नु भयो । पार्टी स्थायी कमिटीमा मनपरी किसिमले नियुक्ति गर्दै कार्यविभाजन गरी निर्देशन जारी गर्नुभयो । प्रदेश समन्वय कमिटीमा स्वेच्छाचारी किसिमले पजनी गर्दै तपाईले अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीहरुलाई विघटन गर्नुभयो ।’
त्यसैगरी वरिष्ठ नेता नेपालले पत्रमा ‘जनसंगठन र पेशागत संगठनहरुमा पनि त्यसरी नै स्वेच्छाचारी किसिमले आफ्नो गुट बाहेकका व्यक्तिहरुलाई जिम्मेवारीबाट हटाउनु भयो । तपाईँका यस्ता पार्टी विधान विपरीत तथा लोकतान्त्रिक मान्यता विपरीतका क्रियाकलापहरु सच्याउन हामीले विभिन्न समयका प्रत्यक्ष वार्ताहरुमा समेत आग्रह गयौं । तर त्यसप्रति तपाईले कुनै सुनुवाई गर्नुभएन । यसबाट देश, जनता र पार्टीमा पर्ने असरप्रति असंवेदनशील भएर तपाईले प्रतिनिधिसभामा यही बैशाख २७ गते विश्वासको मत लिने कुरा गर्नु भएको छ ।’
गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपा नामको पार्टी ऋषि कट्टेलको नाममा दर्ता भएकोले एमाले र माओवादी केन्द्र बीच २०७५ जेठ ३ गते एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)लाई अवैधानकि ठहर गर्दै दुवै पार्टी आ–आफ्नै पूर्ववत पार्टीका नाममा फर्काए पछि एमाले भित्रको विवाद् थप चर्किदैं आएको छ ।
वरिष्ठ नेता नेपालले हिजो आइतबार साँझ प्रधानमन्त्री समेत रहनु भएका एमाले अध्यक्ष ओलीको वक्तव्यलाई ‘अहङ्कार र विद्वेषपूर्ण भन्दै तपाईँले आफ्ना पार्टीको सिद्धान्त, विधान र नीति विरोधी क्रियाकलापहरुमा पर्दा हाल्न अरुमाथि प्रहार गर्नुभएको छ’ भनि आरोप लगाउनु भएको छ ।
के छ त पार्टी अध्यक्षलाई पठाएको ६ बुँदाहरुमा
१) सर्वोच्च अदालतको फैसला तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को विधान, नियमावली, आचार संहिता अनुरुप २०७५ साल जेठ ३ गते पार्टी एकीकरण हुनुपूर्वको अर्थात जेठ २ गतेको स्थितिमा पार्टी, जनसंगठन र पेशागत सगठनका सबै संरचनाहरुलाई केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील तुल्याउने ।
२) नवौं राष्ट्रिय महाधिवेशको मार्ग निर्देशन र पार्टीको विधान विपरीत २०७७ साल फागनु २८ गते गरिएका केन्द्रीय कमिटी विघटन गर्ने लगायतका निर्णय रद्द गर्नुका साथै त्यसको आधारमा त्यसपछि भएका सबै निर्णयहरु खारेज गर्ने ।
३) पार्टीलाई विधि, विधान र पद्धति अनुरुप सञ्चालन गर्ने ।
४) पार्टीमा उत्पन्न अन्तरविरोध, मतभेद र विवादका कारण सिर्जित समस्याहरु तथा एकअर्काप्रति लगाइएका आरोप(प्रत्यारोप एवम् समस्याहरुको बारेमा यथोचित समयमा समीक्षा गरी आवश्यक निर्णय गर्ने ।
५) सरकार र पार्टीको बीचमा समन्वय र सुसम्बन्ध कायम गर्दै पार्टीको सिद्धान्त, नीति, कार्यक्रम र देश तथा जनताको सर्वोपरी हित, अपेक्षा र आवश्यकता अनुसार सञ्चालन गर्ने ।
६) उक्त कुराहरुको आधारमा पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउने । यथा समयमा राष्ट्रिय महाधिवेशन र विभिन्न तहका अधिवेशनहरु सम्पन्न गर्ने । हामीले नेपाल कम्युनिष्ट पार्टी ९एमाले० मात्र होइन, नेपालको कम्युनिष्ट आन्दोलनको एकताको रक्षा तथा देश, जनता र पार्टीको हितको लागि अगाडि सारेका उपयुक्त कुराहरुलाई गम्भीररुपमा ग्रहण गरी समस्याको समाधानको दिशामा अग्रसर हुन तपाई र तपाई निकट सबै नेता, कार्यकर्ता र सदस्यहरुलाई आव्हान गर्दछौं । हाम्रा उक्त जायज आवाजहरुलाई वेवास्ता गरियो भने तपाई पार्टी विभाजन गर्दै देश, जनता र लोकतन्त्रलाई अन्योल र दिशाहीन तुल्याउन उद्दत रहनुभएको भन्ने अर्थ लाग्ने स्पष्ट छ । त्यस्तो स्थितिमा हामी देश र जनताको सर्वोपरी हित तथा पार्टी र लोकतन्त्रको रक्षाका लागि प्रतिनिधि सभाको सदस्य नै त्याग गर्ने लगायतका जस्तोसुकै पाइला चाल्न पनि बाध्य हुने स्थिति उत्पन्न हुनेछ । यसको लागि पनि जिम्मेवार तपाई नै हुनुहुने छ ।