रासस
काठमाडौं – नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका नेता नवीन्द्रराज जोशीको निधनले नेपालको प्रजातान्त्रिक आन्दोलनलाई ठूलो नोक्सान पुगेको बताउनु भएको छ । पूर्व उद्योगमन्त्री जोशीको ४५ औँ पुन्यतिथिका अवसरमा गणेशमान सिंह अध्ययन प्रतिष्ठानले आज आयोजना गरेको ‘श्रद्धाञ्जलिसभा’मा उहाँले जोशीको निधनले देशले होनहार र उदीयमान नेता गुमाएको बताउनु भयो । उहाँले भन्नुभयो, “लगनशील, सिर्जनशील र इमान्दार नेता जोशीको अभाव आगामी दिनमा देश र काङ्ग्रेसभित्र खड्किनेछ ।”े पछिल्लो समय जनप्रतिनिधिका हैसियतले जनताका घरघरमा पुगेर जनसम्बन्धी धारणा राखेर अनुकरणीय काम गर्ने नेता जोशीबाट नेपाली काङ्ग्रेसले पाठ सिक्नुपर्ने उहाँको भनाई थियो ।
नेता पौडेलले उद्योगमन्त्री हुँदा जोशीले बन्द हुन लागेका उदयपुर सिमेन्ट उद्योग, हेटौँडा सिमेन्ट उद्योग र औषधि व्यवस्था विभाग लगायतमा कुशलतापूर्वक नेतृत्व गरेर पुनर्जीवन दिएको स्मरणसमेत गराउनु भयो । बौद्धिक, विचारशील र कर्मशील व्यक्तित्व जोशीको निधनमा काङ्ग्रेसले ठूलो क्षति व्यहोर्नु परेको नेता पौडेलको जिकिर छ । काङ्ग्रेस नेता प्रकाशमान सिंहले जोशी पार्टीका नेता मात्र नभएर प्रजातान्त्रिक आन्दोलनको सशक्त व्यक्ति समेत भएको बताउनुभयो । “जोशी मूल्यमान्यता र आदर्शको राजनीतिमा अडिग र प्रतिकूल अवस्थामा नझुक्ने नेता हुनुहुन्थ्यो”, नेता सिंहले भन्नुभयो । नेपाली काङ्ग्रेस मात्र नभएर देशलाई नै नेतृत्व गर्ने क्षमता जोशीमा रहेको उहाँको भनाइ थियो । नेता सिंहले गणेशमान सिंहलाई जीवन्त राख्न जोशीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नु भएको छ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानलाई निरन्तर रुपमा अगाडि बढाए मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने उहाँले बताउनु भयो ।
प्रतिष्ठानका उपाध्यक्ष डा.जगदीशचन्द्र पोखरेलले जोशीको निधनले पार्टी र देशले एक योग्य नेता गुमाएको बताउनुभयो । जोशीको योजनाअनुसार नै प्रतिष्ठानलाई अगाडि बढाइने उहाँको भनाइ थियो । प्रतिष्ठानका सचिव डा.भूपेन्द्र बस्नेतले जोशी इमान्दार र असल नेतृत्वकर्ता भएको बताउनु भयो । प्रतिष्ठानका सदस्य एवम् त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा.केदारभक्त माथेमाले जोशी युवा जोश भएको जाँगरिलो नेता भएको बताउनु भयो । स्व.जोशीकी धर्मपत्नी सपना जोशीले नेता जोशी परिवारभन्दा पनि देश र जनतालाई माया गर्ने व्यक्ति भएको बताउनु भएको छ । काङ्ग्रेस नेता राजु राज जोशीले स्व.जोशीको योगदान पार्टीले मूल्याङ्कन गर्नुपर्ने बताउनु भएको छ । प्रजातन्त्रका लागि कोहीसँग नझुक्ने नेता जोशी भएको उहाँको बुझाइ थियो । वि.सं २०१९ मा काठमाडौँमा जन्मिनु भएका जोशीको वि.सं २०७७ चैत १३ गते नर्भिक अस्पताल थापाथलीमा निधन भएको थियो ।