काठमाडौं– सिंहदरबार प्राङ्गगणमा अहिले नेकपा एमालेका दुई समूहबीच घनिभूत छलफल सुरु भएको छ । प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष केपी शर्मा ओली र एमाले वरिष्ठ नेता माधवकुमार नेपालको वार्तामा संसदीय दलका नेता सुवास नेम्वाङ र अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेता योगश भट्टराई र मेटमणि चौधरीको समेत उपस्थिति रहेको स्रोतको भनाइ छ । दुई पक्षबीचको छलफल व्यवस्थापिक संसद्को सिंहदरबारस्थित लेखा समितिको कार्यकक्षमा भैरहेको छ ।
भोलि बैशाख २७ गते सोमबार दिउँसो ४ बजे प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रम रहेको छ । पार्टीबाट निलम्वन गरिएका वरिष्ठ नेता नेपाललाई फकाउन पाँच दिनदेखि प्रधानमन्त्री ओलीले विभिन्न कोणबाट प्रयत्न गर्दै आउनु भएको छ । हिजो मात्रै नेपाली काङग्रेसले प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो भने आजै दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले विश्वासको मत दिन नसकिने प्रष्टपारे पछि प्रधानमन्त्री ओली अहिले अन्तिम अवस्थामा पुनः वरिष्ठ नेता माधवकुमार नेपाललाई मनाउन कोशिस गर्नु भएको छ । अहिलेसम्मको अवस्थालाई हेर्दा प्रधानमन्त्री ओलीले भोलि विश्वासको मत पाउने सम्भावना ज्यादै न्यून रहेको बुझिएको छ । जसपाले प्रधानमन्त्रीलाई समर्थन नगर्ने कुरा सार्वजनिक भए लगतै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले सामुहिक राजीनामा नदिने सार्वजनिक भएको छ ।