काठमाडौं – कोरोना महामारीबाट देशभर ६ सय ५० जना पत्रकार सङ्क्रमित भएको पत्रकार महासङ्घले जनाएको छ । महासङ्घका अनुसार हालसम्म ६ सय ५० जना पत्रकार सङ्क्रमित भएको र ७ जनाले ज्यान गुमाएका छन् । कुल सङ्क्रमितमध्ये ३ सय ९१ जना निको भइसकेका छन् भने २ सय ५२ जना अहिले पनि सक्रिय सङ्क्रमित रहेका छन् । सबैभन्दा धेरै काठमाडौं उपत्यकाबाटै पत्रकारिता गर्ने उपत्यका प्रदेश, प्रतिष्ठान र एशोसिएटमा संलग्न १ सय १७ जना पत्रकार सङ्क्रमित भएका हुन् । 
महासङ्घका अनुसार हालसम्म प्रदेश १ मा १८ जना, प्रदेश २ मा ९ जना, बागमती प्रदेशमा १४ जना, गण्डकी प्रदेशमा ७ जना, लुम्बिनी प्रदेशमा २७ जना, सुदूरपश्चिम प्रदेशमा ३० जना र कर्णाली प्रदेशमा ३० जना तथा उपत्यका प्रदेश, प्रतिष्ठान र एशोसियटमा ११ जना सङ्क्रमित भएका हुन् । सङ्क्रमति पत्रकारमध्ये ३२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ४ जनालाई आइसियुमा राखेर उपचार भइरहेको छ । अग्रभागमा खटिने पत्रकार नै अत्याधिक सङ्क्रमित हुन थालेपछि पत्रकार महासङ्घले महासङ्घको केन्द्रीय कार्यालयमै १० बेडको आइसोलेसन सेन्टर बनाएको छ भने ५ बेडमा अक्सिजन समेतको व्यवस्था गर्न लागेको छ । महासङ्घका अनुसार आइसोलेसन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।