काठमाडौँ– सांसद् पदबाट सामूहिक बहिर्गमनको तयारी गरेको नेकपा एमालेभित्रको खनाल–नेपाल समुहले आज राजीनामा नबुझाउने भएको छ । नेपाल पक्षका सांसद् जीवनराम श्रेष्ठका अनुसार प्रधानमन्त्री केपी ओलीको पक्षमा बहुमत नजुट्ने देखेपछि नेपाल पक्षले तत्कालै राजीनामा नबुझाउने निर्णय गरेको हो । यद्यपि सोमबारसम्म यो निर्णयमा फेरबदल हुनसक्ने पनि सांसद श्रेष्ठले जानकारी दिनु भएको छ । अर्का सांसद् मेटमणि चौधरीका अनुसार राजीनामा संयुक्त रुपमा बुझाएर नेपाललाई दिइसकेता पनि आइतबार संयुक्त राजीनामा संसद्मा बुझाइएको छैन ।
जनता समानवादी पार्टीका कतिपय सांसदहरु विश्वासको मतमा तटस्थ बस्ने सम्भावना देखिएको र यसकारण प्रधानमन्त्री ओलीको बहुमत नपुग्ने देखिएपछि तत्काल राजीनामा नबुझाउने निचोडमा खनाल–नेपाल पक्ष पुगेको छ । यसबारे  भोलि सोमबार दिउँसो १ बजेभन्दा अगाडि निर्णय हुनसक्ने सम्भावनालाई भने सांसद् चौधरीले स्वीकार गर्नुभएको छ । आइतबार दिउँसो नेता नेपालसहित पक्षका सांसदहरु सिंहदरबारमै छलफलमा व्यस्त रहनु भएको छ । नेता नेपालसहित करिब २० जना सांसदहरुले आइतबार संसद सचिवालयमा संयुक्त राजीनामा बुझाउने तयारी थियो ।