काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली सत्ताबाट च्यूत हुने सङ्घारमा आज बसेको संवैधानिक परिषद् बैठकले लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधवप्रसाद रेग्मीलाई नियुक्तिको लागि सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद् बैठकले रेग्मीलाई अध्यक्षमा सिफारिस गरेको हो । पूर्वसचिव रेग्मी सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको आफ्नै दाजु हुनुहुन्छ । न्यायाधीश रेग्मी जसले नेकपा नाममाथि परेको मुद्दाको फैसला सुनाउँदै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई पूर्ववत् अवस्थामा फर्काइ दिने हुनुहुन्छ । प्रधानमन्त्री ओलीले सत्ताबाट बहिर्गमन हुने अघिल्लो दिन न्यायाधीश रेग्मीलाई गुन तिर्नुभएको राजनीतिक वृत्तमा चर्चा छ ।
अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गाना र पूर्वसचिव माधवकुमार रेग्मीको नाम लोकसेवा आयोगको अध्यक्षका लागि प्रस्ताव गरिएको थियो । आज बसेको उक्त बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा पूर्व सचिव डा. हरि पौडेललाई नियुक्ति गर्न सिफारिस गरेको छ । यस्तै अन्य आयोगमा रिक्त आयुक्त पदमा समेत प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको बैठकले नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
लोकसेवा आयोगको अध्यक्षमा सिफारिस गरिएका रेग्मी प्रधानमन्त्री ओलीको गृहनगरका हुनुहुन्छ । संवैधानिक आयोगका प्रस्तावित पदाधिकारीहरुको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ ।