काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना सङ्क्रमितको उपचारका लागि आवश्यक पर्ने शैयादेखि भेन्टिलेटर व्यवस्थापन गर्न सरकार चुकेको बताउनु भएको छ । उहाँले कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर नभएको उल्लेख गर्दै कोरोनाविरूद्ध खोप लगाउने दायित्वबाट सरकार विमुख भएको बताउनु भएको छ । तीन महिनाभित्र सबै नेपालीलाई खोप दिने भनिएता पनि सरकारले त्यस प्रतिवद्धता अनुसार काम नगरेको पौडेलको भनाई छ । ‘सरकार कमिसन र भ्रष्टाचारको चङ्गुलमा फसेको कारण नागरिकलाई सहज र सर्वसुलभ रूपमा कोरोना खोप दिलाउने दायित्वबाट विमुख भएको छ,’ पौडेलले फेसबुकमा लेख्नु भएको छ । 
कमिसनको चक्करमा लागेर भारतबाट ल्याउने भनिएको खोप स्वदेश ल्याउन ढिलाइ भइरहेकोमा उहाँले आपत्ति पनि जनाउनु भएको छ  । कोरोना सङ्क्रमित दिन–प्रतिदिन वृद्धि भइरहे पनि शैया, अक्सिजन, भेन्टिलेटरलगायत व्यवस्थापनमा सरकार चुकेको उहाँले बताउनु भयो । ‘सङ्क्रमितको उपचारमा चाहिने शैया, आइसीयू, भेण्टिलेटर, अक्सिजन, जनशक्ति, आइसोलेसन सहितको व्यवस्थापनमा सरकार चुकेको कुरा अस्पतालमा देखिएको बिरामीको चित्कारले प्रष्टयाउँछ,’ पौडेलले भन्नु भएको छ ।