काठमाडौँ – सरकारले लोक सेवा आयोगका अध्यक्षमा माधव रेग्मीको नाम सिफारिस गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा आज आइतबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले पूर्व सचिव समेत रहेका रेग्मीलाई लोक सेवाको अध्यक्षमा सिफारिस गरेको हो । लोक सेवा अध्यक्षका लागि सचिव शिशिरकुमार ढुङ्गाना र रेग्मीको नाम प्रस्ताव गरिएको थियो । परिषद् बैठकले रेग्मीको नाम सिफारिस गरेको छ ।
कानूनी व्यवस्था अनुसार संसदीय सुनुवाई समितिले अनुमोदन गरेपश्चात् राष्ट्रपटिबाट नियुक्त हुने व्यवस्था छ । आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित हुनुहुन्थ्यो । प्रधानमन्त्री ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सहभागी बैठकले लोकसेवासहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि पदाधिकारी सिफारिस गरेको छ ।