काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने जानकारी गराएको छ । आज बिहान मात्रै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर बालुवाटार पुगेका जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले भोलि हुने विशेष अधिवेशनमा विश्वासको मत नदिने प्रधानमन्त्री ओलीलाई जानकारी गराउनु भएको हो ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिने र नदिनेमा जसपामा ठूलो विवाद थियो । प्रधानमन्त्रीलाई साथ दिनु पर्छ भन्ने पक्षमा उभिएका अध्यक्ष ठाकुर र त्यसको विपक्षमा उभिएका उपेन्द्र यादव समूहबीच ठूलो विवाद भएको थियो । यो विवादले पार्टी फुटको सङ्घारमा समेत पुगेको बेला अध्यक्ष ठाकुर र महतोले प्रधानमन्त्री ओलीलाई भोलिको विशेष अधिवेशनमा विश्वासको मत दिन नसकिने जानकारी दिए पछि प्रधानमन्त्री ओली सत्ताच्यूत हुने निश्चित भएको छ । यसको साथै जसपा पनि फुटको सङ्घारबाट जोगिन पुगेको छ ।