काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध भोलि आइतबार संसद्मा अविश्वासको प्रस्ताव दर्ता हुने भएको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत पाउन सक्ने अवस्था नदिएमा कुनै पनि बेला प्रतिनिधिसभा विघटन गर्ने सोचमा रहेको बुझिन्छ । यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस र नेकपा(माओवादी केन्द्र) बीच यस बारेमा तिब्र छलफल भैरहेको छ । प्रधानमन्त्री ओली जसरी पनि वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई फकाउन हरेक किसिमका प्रयास गरिरहेका छन् । वरिष्ठ नेता नेपालको पछिल्लो पटक राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीसँग आफु र आफ्ना समूहका नेताहरुको भेटघाट र छलफलले केही लसिएको काङ्ग्रेस, माओवादी केन्द्र र जसपा यादव–भट्राई समूहको बुझाइ छ । कतै नेता नेपालले आफुहरुलाई धोका दिने हुन कि भनेर यतिबेला शसङ्कीत देखिएका छन् ।
यता प्रधानमन्त्रीले पर्सी २७ गते सोमबारका दिन प्रतिनिधिसभाबाट विश्वासको मत लिन एमाले पार्टी भित्रै समानान्तर कमिटी गठन गर्दै हिंडेका खनाल–नेपाल समूहलाई मनाउन सबै किसिमका प्रयासहरु गरिरहनु भएको छ । वरिष्ठ नेता नेपालले उधारोमा कुनैपनि कुरामा मिलेर जान नसक्ने बताउँदै आएता पनि अन्ततः ओलीलाई विश्वासको मत दिन राजी हुने हुन् कि भन्नेमा नेपाली काङ्ग्रेस आशङ्कीत छ । प्रधानमन्त्री ओलीले पार्टी भित्रको विवादलाई मन्थर पारेर विश्वासको मत लिनसक्ने सम्भावना बढ्दो छ । तर प्रधानमन्त्री अहिले बस्दैगरेकोे मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा भङ्ग गर्नेदेखि पर्सी २७ गते सोमबारको विशेष अधिवेशन २÷४ दिन पर सार्न सिफासिर गर्न सक्ने आङ्कलन पनि गर्न थालिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्बाट निर्णय गराएर जुनसुकै कुरा लिएर गए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले पदीय मर्यादाको ख्यालै नगरी हरेक कुरालाई ‘इन्डोस’ गर्दै आउनु भएको छ । राष्ट्रपति भण्डारी देशको संविधान रक्षा गर्ने र राजनीतिलाई स्थायीत्व दिनेभन्दा प्रधानमन्त्री ओलीको स्वार्थका खातिर संविधानको बर्खिलापमा काम गर्दै आउनुभएको संविधानविद् र कानून व्यवसायीहरुले सार्वजनिक अभिव्यक्ति दिंदैआएका छन् ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपालको पछिल्लो गतिविधिले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसलगायत अन्य दलहरु शसङ्कीत भएको देखिन्छ । अहिले काङ्ग्रे संसदीय दलको बैठक बसिरहेको छ भने माओवादी केन्द्रपनि आन्तरिक छलफल गरिरहको छ । हिजो साँझमात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न देउवा निवास बुढानिलकण्ठ पुग्नु भएको थियो ।
प्रधानमन्त्रीलाई विश्वासको मत लिन १३६ मतको आवश्यक पर्दछ । जबकी एमाले संगठित भएमा उसको १२१ र जनता समाजवादी पार्टी महन्थ– राजेन्द्र समूहले साथ दिने छन् । महन्थ–राजेन्द्र समूहका १४ जना सांसद् ओली पक्षमा छन् । नेमकिपाले पनि पनि ओलीलाई समर्थन गर्नेछ । यसरी हेर्दा ओलीको पल्ला भारी देखिन्छ । तर, माधवकुमार नेपाल समूहले यथास्थितिमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने राजनीतिक नैतिकताको धरातलबाट टाढा रहेको बताउँदै आएको छ । प्रधानमन्त्री ओलीलाई अपदस्थ गर्ने कि नगर्ने ताला–चावी नेपाल समूहसँग छ । नेता नेपालले यो अवस्थासम्म आइपुग्दा जुन किसिमको अडान राख्नुभएको छ, त्यसलाई कायम गर्न सक्नु भयो भने देशले प्रधानमन्त्री ओलीको दम्भ र असङ्कारबाट मुक्ति पाउने छ । अन्यथा स्वयम् माधवकुमार नेपालको राजनीति भविष्यसमेत अन्धकारमा धकेलिने छ । के वरिष्ठ नेता नेपालले ओलीसँग उधारो सहमति गरेर, आफ्नो राजनीतिक भविष्यलाई नै दाउमा राखेर प्रधानमन्त्रीलाई विश्वासको मत दिनुहुने छ त ?? अब बैशाख २७ गते सोमबार यसको फैसला हुनेछ ।