काठमाडौं –पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ४ सय १८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यस्तै ५३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि शुक्रबार नेपालमा ९ हजार १ सय ९६ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने ५० जनाले ज्यान गुमाएका थिए ।
मन्त्रालयले जनाएअनुसार १७ हजार ३ सय १५ जनाको पीसीआर विधि र ९ सय ८९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा क्रमशः ८ हजार २ सउ ८७ र १ सय ३१ जनामा सङ्क्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या ३ लाख ८५ हजार ८ सय ९० पुगेको छ भने निको हुनेको संख्या २ लाख ९८ हजार ७ सय ६५ पुगेको छ भने मृतकको कुल संख्या ३ हजार ६ सय ३२ जना पुगेको छ । आजसम्म देशभर सक्रिय सङ्क्रमित ८३ हजार ४ सय ९३ जना पुगेका छन् ।