काठमाडौं – उपत्यकामा जारी निषेधाज्ञा अवधिमा यात्रुसँग बढी रकम असुलेर यात्रा गराउने कार्यमा संलग्नलाई ट्राफिक प्रहरीले तीव्र कारबाही गरेको छ । ट्राफिक प्रहरीले सावित्रा काउण्टर कलंकीमा कार्यरत महोत्तरी गौशाला घर भई थानकोट बस्ने मनु अर्याल र उनकै छोरा अनु अर्याललाई पक्राउ गरेको छ । त्यस्तै नारायणी यातायात काउण्टरका टिकट बुकिङ् स्टाफ हेटौडाका नवराज घिमिरे, कुलेश्वर बस्ने बिपिन सुबेदी र जय नेपाल सुपर डिलक्सका बुकिङ् ईन्चार्ज सुन्धारा काठमाण्डौंका ज्ञानेन्द्र शाहलाई समेत बढी भाडा लिएको कसुरमा पक्राउ गरेको छ । 
उनीहरुले धनुषा, महोत्तरी र बिरगञ्ज जाने यात्रुहरु सङ्कलन गरि प्रति व्यक्ति २ हजार ५ सय देखि ३ हजारसम्म भाडा लिएको पाइएको प्रहरीको भनाइ छ । पक्राउ परेका पाँचै जनालाई आवश्यक कारबाहीको लागी प्रहरी वृत्त कालीमाटीमा बुझाएको महाशाखाले जनाएको छ । त्यसैगरि गङ्गबु बसपार्कबाट रुकुम जाने यात्रुहरुसँग ६ हजारका दरले भाडा लिने रुकुम पश्चिम यातायातका कर्मचारी रुकुम सिस्नेरीका गणेश रावल र भागरिराम छिनाललाई पनि पक्राउ गरि थप कारबाहीको लागी प्रहरी प्रभाग नयाँबसपार्कमा बुझाएको समेत महाशाखाले जनाएको छ ।
    यसअघि पनि महाशाखाले भाडा लिने १६ जनालाई पक्राउ गरि कारबाही गरेको जनाएको छ । महाशाखाले अत्यावश्यक परि यात्रा गर्नुपरेमा टिकट काटेर मात्र यात्रा गर्न र तोकिएको भन्दा बढि भाडा लिएमा प्रहरीको हटलाइन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।