काठमाडौं – नेकपा एमाले नेता माधवकुमार नेपालले गलत बाटो प्रयोग गरेर अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नु भएको छ । अध्यादेशमार्फत् बलमिच्याइँ गर्न नहुने वरिष्ठ नेता नेपालको अडान छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत् सन्देश जारी गर्दै ओलीको ध्यानाकर्षण गराउनु भएको हो । उहाँले अहिले मुलुकको ध्यान कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउनतर्फ केन्द्रित हुनुपर्ने पनि औंल्याउनु भएको छ ।
‘कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याइँ गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैर–जिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो,’ नेता नेपालका अनुसार, ‘मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन मिल्दैन । अतः गलत बाटोबाट गरिने यस्ता नियुक्तिका प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आह्वान गर्दछु ।’