काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज शनिबार साँझ मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउनु भएको छ । बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको एक मन्त्रीले जानकारी दिनुभएको छ । मन्त्रीका अनुसार बैठकको एजेण्डाबारे पूर्वजानकारी दिइएको छैन । सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गरेता पनि आज शनिबार साँझ आकस्मिक रुपमा बोलाइएको बैठकप्रति चासो छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक कर्मचारीका अनुसार, ‘आजको क्याबिनेट मिटिङ आकस्मिक नै हो । सायद अहिलेको समग्र परिस्थितिले तत्काल बस्नुपर्यो होला ।’प्रधानमन्त्री ओलीले विश्वासको मत लिने दिन नजिकिंदै गर्दा उहाँको सक्रियता बढेको छ । प्रधानमन्त्री ओलीले भोलि आइतबार संवैधानिक परिषद्को बैठक पनि बोलाउनु भएको छ ।