काठमाडौँ – सरकारले आगामी जेठमा एक लाख र असारमा १ लाख २३ हजार भन्दा धेरै व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण फैलिने प्रक्षेपण गरेको छ । यसरी नयाँ सङ्क्रमित थपिने मध्ये १० प्रतिशतलाई अक्सिजनको आवश्यकता पर्ने सरकारले अनुमान गरेको छ । अक्सिजनको आवश्यकता पर्ने सङ्क्रमितहरुको संख्या बढ्ने भएकोले त्यसको व्यवस्थापनका लागि सरकारले मेडिकल अक्सिजनको प्रयोग तथा आवश्यकता निर्धारण सम्बन्धी नयाँ मापदण्ड लागु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ सङ्क्रमण देखिने मध्ये ८० प्रतिशत सङ्क्रमितहरुको अवस्था सामान्य रहने, १० प्रतिशतलाई अक्सिजनसहित अस्पतालमा राखेर उपचार गरिनुपर्ने, ७ प्रतिशतको अवस्था जटिल भइ एजडीयुमा राखेर उपचार गरिनुपर्ने र ३ प्रतिशतलाई आइसियू तथा भेन्टिलेटरमा राखेर उपचार गरिनुपर्ने अवस्था हुन सक्ने बताएको हो ।
    मन्त्रालयले गरेको अनुमान अनुसार अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने सङ्क्रमितको आधारमा वैशाख महिनामा १ लाख ४४ हजार, जेठ महिनामा १ लाख ९० हजार र असार महिनामा २ लाख ३३ हजार सिलिण्डर गरी जम्मा ५ लाख ६७ हजार सिलिण्डर अक्सिजन खपत हुनेछ । जेठ र असारमा कोरोना सङ्क्रमित बिरामीहरुका लागि अक्सिजनको खपत बढ्न सक्ने भन्दै त्यसको व्यवस्थापनका लागि नयाँ मापदण्ड लागू गरिएको मन्त्रालयले जनाएको छ । आइसियू र भेन्टिलेटरमा राखी उपचार गर्नुपर्ने गम्भीर बिरामीका लागि प्रतिदिन औसतमा १४ हजार लिटर (१० लिटर प्रतिमिनेटका दरले) अक्सिजन आवश्यक पर्ने नयाँ मापदण्डमा उल्लेख छ ।
    यस्तै एचडीयुमा राखी उपचार गर्नुपर्ने जटिल बिरामीका लागि प्रतिदिन औसतमा १२ हजार लिटर (८ लिटर प्रति मिनेटका दरले) आवश्यक पर्ने र अस्पतालमा अक्सिजनसहित उपचार गर्नुपर्ने बिरामीका लागि प्रतिदिन औसतमा ६ हजार लिटर (औसत ४ लिटर प्रति मिनेटका दरले) अक्सिजन आवश्यक पर्ने देखिएको मन्त्रालयले जनाएको छ । हाल देशभरका अस्पतालहरुमा अक्सिजन अभाव भइरहेको छ  । विभिन्न अस्पतालहरुले अक्सिजनको सहज आपूर्तिको व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरेका छन् । शुक्रबार ललितपुरको अल्का अस्पतालले पनि अक्सिजन अभावमा बिरामीको ज्यान जोखिममा परिरहेकोले सहज आपूर्तिका लागि सरकारलाई आग्रह गर्दै विज्ञप्ति जारी गरेको थियो । सरकारले भने अक्सिजनको सहज व्यवस्थापनका लागि काम भइरहेको जनाएको छ ।