काठमाडौं– कोरोना भाइरस सङ्क्रमणको महामारीका बीचमा यतिबेला देशमा राजनीतिको पारो निकै तातेको छ । सत्ता टिकाउन प्रधानमन्त्री केपी शर्मा ओली समूह दिन रात नभनी आफ्ना विपक्षीहरुलाई फकाउन लागि परेको छ । पार्टी भित्रैका प्रतिपक्षीका रुपमा चिनिएका खनाल–नेपाल समूहलाई फकाउन प्रधानमन्त्री ओलीले आफुमात्र नभै राष्ट्रपति विद्यादेवी भण्डारीदेखि दोस्रो तहका नेताहरुलाई समेत परिचालित गर्नु भएको हो । राष्ट्रपति भण्डारी देशको राष्ट्रपति हो, या एमाले ओली कोटरीको प्रमुख सल्लाहकार ? राष्ट्रपतिले आफ्नो पदीय मर्यादाको समेत ख्याल नगरी खुलेयाम पार्टी भित्रको विवादमा मुछिनु कति बुद्धिमता होला ? प्रधानमन्त्री ओलीको चारदिन अघिदेखिको राजनीतिक सक्रियतालाई हेर्दा कुनैपनि हथकण्डा अपनाएर सत्तामै टाँसिरहने प्रयन्त गरिरहनु भएको छ । यो प्रयास बैशाख २७ गते दिउँसोसम्म चल्नेछ ।

यसैबीच आज शनिबार अपरान्ह पाँच बजे बस्ने मन्त्रिपरिषद्को बैठक अगाबै अहिले प्रधानमन्त्री ओलीले बालुवाटारमा आफ्ना विश्वासपात्रहरुलाई बोलाएर विभिन्न कोणबाट निरन्तर छलफल गरिरहनु भएको छ । आज बिहान मात्रै बालुवाटारमा एक चरणको बैठक सकेर प्रधानमन्त्रीले आफ्ना ‘कि पर्सन’ नेताद्वय ईश्वर पोखरेल र विष्णु पौडेलसँग बदलिंदो परिस्थितिलाई कसरी ‘ट्याकल’ गर्ने भनेर विभिन्न कोणबाट घनिभूत रुपमा छलफल गरिरहनु भएको बालुवाटार स्रोतले बताएको छ । बिहान बोलाइएको बैठकमा छलफल भैरहेकै अवस्थामा माओवादी केन्द्रबाट प्रधानमन्त्री ओलीको पक्षपोषणमा लागेका उद्योगमन्त्री लेखराज भट्ट र एमाले नेता प्रदीप ज्ञवाली भने विचैमा उठेर बाहिरिनु भएको थियो ।
प्रधानमन्त्री ओलीका लागि प्रतिपक्षी दलहरुभन्दा पनि आफ्नै पार्टी भित्रका प्रतिपक्षी समूह गलपासो सावित भएका छन् । पार्टी भित्र आफु इतरकालाई ठेगान लगाउने भन्दै भटाभट कारवाही गर्नु भएका प्रधानमन्त्री ओली अहिले त्यही समूहसँग सत्तामा टिकाइ दिन याचना गर्दै हिंड्नु कतिसम्मको लाजमर्दो कुरा होला । आफुले जे गरेपनि हुन्छ भन्ने दम्भ र अहंकारले ओलीलाई अब कुन रसातलमा पु¥याउने हो ? त्यो हेर्न दुई दिन अर्थात् बैशाख २७ गते सोमबार साँझसम्ममा कुर्नु पर्ने छ ।