काठमाडौं – बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा हिरासतमा रहँदै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तात्कालिन प्रमुख दीप बस्न्यातलाई सर्वोच्च अदालतले पाँच लाख रुपैयाँ धरौटी लिएर तारिखमा रिहा गर्न आदेश दिएको छ । बस्न्यात भौतिक पूर्वातधार तथा यातायात मन्त्रालयको सचिव भएको बेला उक्त जग्गा विभिन्न व्यक्तिका नाममा विक्री गरिएको थियो । सचिव जस्तो जिम्मेवार पदमा बसेर उक्त सरकारी जग्गा व्यक्तिका नाममा लैजान विशेष भूमिका खेलेको भन्दै २०७६ साल माघ २२ गते उनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको थियो ।
सो मुद्दामाथि सुनुवाई गर्दै विशेष अदालतले अख्तियारका पूर्व प्रमुख बस्न्यातलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनी थुनामा रहेका थिए । विशेष अदालतको उक्त आदेश विरुद्ध आफुलाई अन्याय भएको भन्दै सर्वोच्च अदालतमा बैशाख १७ गते कोरोना भाइरसको सङ्क्रमण भएको कारण देखाउँदै बन्दीप्रत्यक्षीकरणको अपिल गरेका थिए । उक्त निवेदनमाथि सुनुवाइ गर्दै आज शुक्रबार सर्वोच्च अदालतका न्यायधीशद्वय आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले अभियुक्त बस्न्यातसँग पाँच लाख रुपैयाँ धरौटी लिइ रिहा गर्न आदेश दिएको हो । आज गरिएको आदेशमा मुटुको रोगी समेत रहेको भन्दै बस्नेतलाई धुनामा राख्न उपयुक्त नहुने ठहर गरिएको छ ।
‘थुनामा राख्नु मानवीय दृष्टिले अनुचित हुनुका साथै तत्काल प्राप्त प्रमाणका रोहमा बेमुनासिव र अनुपयुक्त देखिएको हुँदा निजलाई थुनामा राख्ने गरी भएको विशेष अदालतको मिति २०७७।८।२८ को आदेश निज दीप बस्न्यातको हकमा सम्म बेरीतको देखिँदा बदर गरिएको छ। पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी निज प्रतिवादी दिप बस्न्यातबाट रु ५,००,००० ९पाँच लाख नगद धरौट राखे वा सो बराबर जमानत दिए लिई निजलाई तारिखमा राखी मुद्दामा पूर्पक्ष गर्नुहोला ।’ सर्वोच्चको अदालतको आदेशमा उल्लेखछ ।